पर्सा जिल्लाभित्र प्याब्सनसँग आबद्ध कलेजहरूले यस वर्षदेखि एसइइ उत्तीर्ण विद्यार्थीहरूका लागि छात्रवृत्तिसहित विभिन्न स्कलरशिप कार्यक्रम सञ्चालन गर्ने भएका छन्। प्याब्सन महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवका अनुसार, छात्रवृत्तिलाई नयाँ सोच र रणनीतिसँग जोड्दै विद्यार्थीको हकहितमा कार्य सुरु गरिएको हो।
श्रीवास्तवले जानकारी दिएअनुसार कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीहरूमध्ये विशेष परीक्षामार्फत योग्य ठहरिने २८ जनाले १०० प्रतिशत छात्रवृत्ति पाउनेछन्। परीक्षामा प्रथम हुने विद्यार्थीलाई ल्यापटपसहित २ वर्षको मासिक शुल्क छुट, दोस्रो हुनेलाई ट्याब र तेस्रो हुनेलाई पोषक सामग्रीका साथ शुल्क छुटको व्यवस्था गरिएको छ। सहभागी सबै विद्यार्थीलाई पनि आंशिक छात्रवृत्ति प्रदान गरिनेछ।यस कार्यक्रमलाई कार्यान्वयन गर्न प्याब्सन महानगरले बीरगंजका करिब १२ वटा शिक्षण संस्थाहरूसँग सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ। सम्झौतामा बिपिएस +2 कलेज, बीरगंज कलेज, सनलाइट कलेज, सिद्धार्थ नेशनल सेकेन्डरी स्कूल, मिनिल्यान्ड स्कूल, मास्कोट एकेडेमी, हिमालयन पिरामिड कलेज, मेरी गोल्ड स्कूल, ओम नेशनल एकेडेमी, ज्ञानदा एकेडेमी र बीरगंज पब्लिक कलेज लगायतका संस्थाहरू सहभागी छन्।प्याब्सन महानगरले कार्यक्रमलाई कार्यान्वयन गर्न वीरगंजका १२ वटा शिक्षण संस्थासँग औपचारिक समझौतापत्रमा हस्ताक्षर गरेको छ। बिपिएस +2 कलेज, – दीपक पटेल,वीरगंज कलेज – डा. दिपेन्द्र चौधरी, सुरेश कुमार चौधरी, रुदल ठाकुर,सनलाइट कलेज – आलोक चौरसिया,सिद्धार्थ नेशनल सेकेन्डरी स्कूल – विरेन्द्र पण्डित ,मिनिल्यान्ड सेकेन्डरी स्कूल – सुरजबावु पटेल,मास्कोट एकेडेमी – विजय साह,हिमालयन पिरामिड कलेज – विरेन्द्र यादव,मेरो गोल्ड स्कूल – अनमोल कोइराला,ओम नेशनल एकेडेमी – शोभा यादव,ज्ञानदा एकेडेमी – वासिद हुसेन,वीरगंज पब्लिक कलेज – डा. अरविन्द श्रेष्ठ सँग सम्झौतापत्रमा हस्ताक्षर गगरिएको श्रीवास्तवले जानकारी दिए । कार्यक्रमको उद्देश्य बीरगंजका विद्यार्थीहरूलाई काठमाडौंलगायत अन्य सहरमा पलायन हुनबाट रोक्दै, यहीँ उत्कृष्ट शिक्षाको वातावरण सिर्जना गर्नु रहेको अध्यक्ष श्रीवास्तवले बताए। "हामी चाहन्छौं विद्यार्थीहरू यहाँ पढेर पनि गर्वका साथ भन्न सकून्, बीरगंजमा पनि स्तरीय शिक्षा सम्भव छ," उनले भने।
प्याब्सन महानगर सचिव अमित आलोकका अनुसार अब चाँडै शैक्षिक सम्मेलन आयोजना गरी बीरगंजमा नै उच्च शिक्षाको सम्भावना र गुणस्तरबारे अभिभावक, विद्यार्थी र विद्यालयहरूसँग साझा रणनीति तय गरिनेछ। “नयाँ युवा, नयाँ सोच” नारासहित अघि बढेको प्याब्सन नगर कमिटीले शिक्षा प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने दाबी सचिव आलोकले गरे।
कोषाध्यक्ष सुरजबावु पटेलले विद्यार्थी पलायनको कारण पहिचान गर्दै सुधारका उपायहरूमा प्याब्सन केन्द्रित भएको बताए। युवा सदस्य विजय बल्लले भने, "शिक्षा के दिनु भन्नेभन्दा पनि, विद्यार्थीहरूलाई के चाहिएको हो भन्ने बुझेर अघि बढ्दा मात्रै उनीहरू यहाँ रोकिन्छन्।"
प्याब्सन नगर कमिटीले यो वर्ष २०८१ देखि लागू हुने छात्रवृत्ति कार्यक्रमलाई दीर्घकालीन परियोजनाको रूपमा लिएको र भविष्यमा अझ प्रभावकारी योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।