सीमावर्ती भारतीय सहर रक्सौल नाकाबाट शुक्रवार एक बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल ले बङ्गलादेशको कुम्मीला ढाका निवासी सैयद इकबाल अहमदलाई नियन्त्रणमा लिएको हो ।
नेपालको बाटो प्रयोग गरेर भारत प्रवेश गर्न खोजिरहेका अहमदलाई वैध कागजातको अभावमा पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अहमदलाई अनुसन्धानका लागि रक्सौलस्थित अध्यागमन कार्यालयमा राखिएको छ । अनुसन्धानका क्रममा उनी वैद्य कागजातहरू बिना नै भारत प्रवेश गर्न खोजिरहेको पुष्टि भएको छ ।
काठमाडौँ हुँदै भारत प्रवेशको प्रयास
पक्राउ परेका अहमदसँग गरिएको प्रारम्भिक सोधपुछका क्रममा उनले आफू ढाकाबाट काठमाडौँ पुगेको बताएका छन् । रक्सौलको हरैया थानाका प्रमुख किशन कुमारका अनुसार, अहमदले काठमाडौँबाट वीरगञ्ज हुँदै भारत प्रवेश गर्ने प्रयास गरेको स्वीकार गरेका छन् ।
उनले काठमाडौँबाट वीरगञ्जको बाटो हुँदै भारत प्रवेश गरेर उत्तर प्रदेशको लखनउस्थित दारुल उल मदरसामा कार्यरत बङ्गलादेशी शिक्षक जुबेर आलमसँग भेटेर अजमेर जाने योजना आफ्नो रहेको प्रहरीलाई बयान दिएका छन् ।
थानाका प्रमुख किशन कुमारका अनुसार, प्रहरीले लखनउको दारुल उल मदरसामा कार्यरत बङ्गलादेशी शिक्षक जुबेरको वैधानिकतामाथि पनि अनुसन्धान भइरहेको छ । जुबेर वैध भिसामा छन् वा छैनन् भन्ने कुरा पुष्टि गर्न सुरक्षा निकायहरूले जाँच अगाडि बढाएको उनले बताए । पक्राउ परेका अहमदविरुद्ध हरैया थानामा मुद्दा दर्ता गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘अपरेसन सिन्दूर’ पछि सीमामा कडाइ
भारतीय सेनाको ‘अपरेसन सिन्दूर’ पछि रक्सौल सीमामा सुरक्षा व्यवस्था उच्च सतर्कतामा राखिएको छ । विगत डेढ महिनामा रक्सौल सीमाबाट एक दर्जनभन्दा बढी विदेशी नागरिकहरू अवैध घुसपैठको प्रयासमा पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरूमा बङ्गलादेशी, चिनियाँ, इरानीलगायत अन्य देशका नागरिकहरू रहेका छन् । एसएसबीले सीमामा गस्ती र जाँचलाई तीव्र बनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रहरीले प्राप्त गरेको गोप्य स्रोतका अनुसार, बाराको महागढीमाई नगरपालिकामा सात जना शङ्कास्पद पाकिस्तानी र बङ्गलादेशी नागरिकहरूको अवैध तरिकाले लुकेर बसेको सूचना प्राप्त गरेको छ । यीमध्ये तीन जना पाकिस्तानको खुफिया एजेन्सी आईएसआईसँग जोडिएको र दुई जना पूर्व पाकिस्तानी सेनासँग सम्बन्धित भएको भारतीय प्रहरीको आशङ्का छ । शङ्कास्पद व्यक्तिहरूको नाम रजक खान, अस्मत खान र अरबुद्दीन खान रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनीहरू जुन २०२५ को पहिलो सातादेखि नेपालको सीमावर्ती क्षेत्रमा सक्रिय छन् ।
भारतको खुफिया निकायहरूले शङ्कास्पद व्यक्तिहरू कुनै ठूलो षड्यन्त्रको तयारीमा हुन सक्ने शङ्का गरेका छन् ।
भारत र नेपालबिचको १ हजार ७ सय ५१ किलोमिटर लामो खुला सीमा घुसपैठिया र तस्करहरूका लागि सहज बाटो बनेको छ । रक्सौल, बहराइच र किशनगञ्जजस्ता सीमावर्ती क्षेत्रमा बारम्बार घुसपैठका घटनाहरू अगाडि आइरहेका छन् ।
नेपालको बलरामपुर र अन्य सीमावर्ती गाउँहरूमा अतिक्रमणका कारण सुरक्षा जाँचमा कठिनाइ भइरहेको छ । कतिपय स्थानमा घर नेपालमा र आँगन भारतमा हुने अवस्थाले घुसपैठियाहरूलाई फाइदा पुगिरहेको छ ।
भारतीय सीमा सुरक्षा बल र खुफिया निकायहरूलेहरूले रक्सौल सीमामा २४ सै घण्टा निगरानी गरिरहेका छन् । एसएसबीकी कमान्डेन्ट गङ्गा सिंह उदावत अनुसार, नक्कली आधार कार्ड र अन्य जाली कागजातहरू जाँच गर्न रक्सौलमा हाईटेक स्क्यानरहरूको व्यवस्था गरिएको छ । प्रत्येक आवतजावत गर्ने व्यक्तिको कडा जाँच गर्न सुरक्षा बलहरूलाई निर्देशन दिइएको छ ।
सैयद इकबाल अहमदको पक्राउ र अन्य शङ्कास्पद व्यक्तिहरूको उपस्थितिले नेपाल – भारत सीमाको सुरक्षामाथि फेरि प्रश्न उठाएको छ । घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप कडा गर्नुपर्ने आवश्यकता औँल्याएको छ