पर्सा जिल्लामा बढ्दो असुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले कफ्र्यू र निषेधाज्ञा दुवै आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले विहिबार सार्वजनिक गरेको विज्ञप्तिमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ अनुसार यस्तो निर्णय गरिएको उल्लेख छ।
प्रशासनका अनुसार कफ्र्यू बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म लागू हुनेछ। त्यसैगरी, निषेधाज्ञा बिहान ६ देखि १० बजेसम्म र अपरान्ह ५ देखि साँझ ७ बजेसम्म कायम रहनेछ। आदेश लागू हुने क्षेत्र पूर्वमा बाइपास रोडदेखि पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक हुँदै दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।
कफ्र्यू अवधिमा अत्यावश्यक सेवाका साधनहरू जस्तै एम्बुलेन्स, दमकल, शववाहन, फोहोर बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पर्यटक, मानवअधिकारकर्मी, कूटनीतिक नियोग, नेपाल विद्युत प्राधिकरण, खानेपानी र दूध बोक्ने गाडी, साथै हवाई टिकट भएका यात्रुहरूलाई यातायात गर्न अनुमति दिइने प्रशासनले स्पष्ट पारेको छ।निषेधाज्ञा अवधिमा दैनिक उपभोग्य सामान खरिद गर्ने तथा सामान्य आवतजावत गर्न पाइने भए पनि पाँच जनाभन्दा बढी भेला हुने, सभा–जुलुस वा प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रशासनले चेतावनी दिँदै भनिएको छ, “जारी आदेशको उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ।”