वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्याशी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेलले जनतासँग प्रत्यक्ष भेटघाट तथा संवादलाई निरन्तरता दिएका छन्।
यसैक्रममा पटेलले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार टोलामा पुगेर स्थानीयवासीसँग भेटघाट गरेका छन्। भेटघाटका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा, आवश्यकता तथा अपेक्षाबारे जानकारी लिएका थिए।
जनतासँग प्रत्यक्ष जोडिने, स्थानीय स्तरका समस्या बुझ्ने र जनताको आवाजलाई प्राथमिकतामा राख्ने उद्देश्यले आफूले टोल–टोलमा पुगेर भेटघाट गरिरहेको पटेलले बताएका छन्।
स्थानीयवासीसँगको भेटघाटका क्रममा टोलको विकास, पूर्वाधार, सरसफाइ, खानेपानी, सडक तथा दैनिक जनजीवनसँग सम्बन्धित विषयमा छलफल भएको थियो।
पटेलले जनताको वास्तविक समस्या बुझ्न कार्यालयमा बसेर मात्रै सम्भव नहुने भएकाले जनताको घरदैलो र टोलसम्म पुगेर उनीहरूका कुरा सुन्न आवश्यक रहेको धारणा राखेका छन्।
स्थानीयवासीले पनि आफ्ना समस्या तथा सुझाव प्रत्यक्ष रूपमा राख्ने अवसर पाएको भन्दै यस्ता भेटघाटले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
पटेलले आगामी दिनमा पनि वीरगञ्जका विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीयवासीसँग भेटघाट र छलफललाई निरन्तरता दिने बताएका छन्।