मधेश प्रदेशबाट पहिलोपटक मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलको २२ सदस्यीय टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन भारतको लखनऊ प्रस्थान गरेको छ। भारतको लखनऊस्थित सिटी मोन्टेसरी स्कुल ९सीएमएस० को आयोजनामा हुने ‘कन्कोर्ड–२०२६’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन विद्यार्थी, प्रशिक्षकसहितको टोली शनिबार भारत प्रस्थान गरेको हो।
मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलका निर्देशक सुलभ केसीका अनुसार प्रतियोगितामा नेपाल, भुटान, श्रीलंका, ओमानलगायत विभिन्न देशका साथै भारतका दार्जिलिङ, सिक्किमलगायत सहरका विद्यालयबाट १८ वर्षमुनिका खेलाडीहरूले सहभागिता जनाउनेछन्।
लखनऊस्थित सिटी मोन्टेसरी स्कुलले आयोजना गर्न लागेको यो प्रतियोगिता पाँचौँ संस्करण हो। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा मधेश प्रदेशबाट मुनलाइट स्कुलको टोलीले सहभागिता जनाउन पाउनु विद्यालयका लागि गौरवको विषय भएको निर्देशक केसीले बताए।
मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल पढाइसँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुद क्षेत्रमा पनि सक्रिय रहँदै आएको छ। विद्यालयले शैक्षिक गतिविधिका साथै विद्यार्थीको खेलकुद प्रतिभा विकासलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। विद्यालयका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरका चेस, फुटबल तथा कराते प्रतियोगितामा समेत सहभागिता जनाउँदै विभिन्न उपलब्धि हासिल गरिसकेका छन्।
विद्यार्थीहरूको सर्वाङ्गीण विकास र अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले विद्यालयले खेलकुद गतिविधिलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ। कन्कोर्ड–२०२६ मा सहभागिताले विद्यार्थीहरूलाई विभिन्न देशका खेलाडीसँग प्रतिस्पर्धा गर्ने, अनुभव आदानप्रदान गर्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ।
भारत प्रस्थान गर्नुअघि विद्यालयका संस्थापक श्याम केसीले विद्यार्थी खेलाडी तथा प्रशिक्षकहरूलाई एक–एक थान ट्र्याकसुट प्रदान गरेका थिए। उनले खेलाडीहरूलाई खादा र टीका लगाएर बिदाइ गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विद्यालय, वीरगञ्ज, मधेश प्रदेश तथा नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन शुभकामना दिएका थिए।
मधेश प्रदेशबाट पहिलोपटक यस प्रकारको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गर्दै २२ सदस्यीय टोली सहभागी हुन लागेपछि विद्यालय परिवार तथा अभिभावकहरूमा उत्साह थपिएको छ।