वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विधिसम्मत प्रक्रियाबाट मात्रै उम्मेदवार छनोट गरी टिकट वितरण गर्ने बताएका छन्। पार्टीको निर्धारित विधि र मापदण्डभन्दा बाहिर गएर कसैले पनि टिकट नपाउने स्पष्ट पार्दै उनले योग्य उम्मेदवारले विचलित हुनुपर्ने अवस्था नरहेको बताए।
शुक्रबार राति सांसद पन्तद्वारा आयोजित बडादसैँको शुभकामना आदानप्रदान तथा टीका ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। वीरगञ्जस्थित क्लासिक ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा पन्तले पार्टीको ‘हामी आउँदैछौँ’ अभियानको प्रसङ्ग जोड्दै आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि पार्टीले उम्मेदवार क्लब, पोलिटिकल प्रोक्सिमिटी, प्रारम्भिक निर्वाचन र समावेशिताको अवधारणा अघि सारेको जानकारी दिए।
उनका अनुसार उम्मेदवार क्लबमार्फत प्रशिक्षित, परीक्षित र योग्य ठहरिएका व्यक्तिले मात्रै पार्टीको आधिकारिक उम्मेदवार बन्ने अवसर पाउनेछन्। जिल्ला सभापति, प्रदेश सभापति वा कुनै सांसदसँग निकट सम्बन्ध भएकै आधारमा तथा नातेदार भएकै कारण कसैले टिकट नपाउने स्पष्ट पार्दै उनले पार्टीको विधि र मापदण्डअनुसार योग्य व्यक्तिले अवसर पाउने विश्वास व्यक्त गरे।
जिल्ला संगठन विभागका प्रमुख कृष्ण पासवानले सहजीकरण गरेको कार्यक्रममा सभापति पन्तले उपस्थित अग्रज तथा मान्यजनबाट टीका ग्रहण गर्नुका साथै सहभागीहरूलाई टीका लगाएर दसैँको शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रममा तुलसा पौडेल, सुदिश प्रजापति, परवेज अख्तरलगायत जिल्लाका नेता, क्षेत्रीय सभापति, पालिका सभापति, वडा सभापति तथा पार्टीका नेता–कार्यकर्ताहरूको उपस्थिति थियो।