वीरगंज,०६ कार्तिक । उपकार सेवा नेपालले पर्साको ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्धाश्रममा आश्रित व्यक्तिहरूका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।
संस्थाले आश्रममा रहेका १८ जना अपाङ्गता भएका व्यक्ति, बौद्धिक अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिकाको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्नलगायतका सामग्री उपलब्ध गराएको हो।
उपकार सेवा नेपालले चामलका ३० किलोका दुई बोरा, एक बोरा पिठो, एक बोरा सोयाबिन, १० किलो दाल, चार लिटर खानेतेल, छ किलो नुन, एक पेटी लुगा धुने साबुन र पाँच किलो भुजालगायतका सामग्री सहयोग गरेको जनाएको छ।
बिहीबार आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूले आश्रमका सदस्यहरू युहन्न गुरुङ, ममता गुरुङ र बिमाया थापालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
उपकार सेवा नेपालले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले प्रत्येक महिना खाद्यान्न तथा आवश्यक उपभोग्य सामग्री उपलब्ध गराउँदै आएको छ।
संस्थाको नियमित सहयोगले आश्रममा रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाको दैनिक आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समाजका असहाय, अशक्त तथा सहयोगापेक्षी व्यक्तिहरूको जीवन सहज बनाउने उद्देश्यले उपकार सेवा नेपालले विभिन्न मानवीय तथा सामाजिक सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ।