काठमाडौं । इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपी (PHP) मा दुईवटा गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइटहरू अस्थायी रूपमा बन्द भएका छन्।
कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगबाट पत्ता लगाइएका यी कमजोरीले सरकारी वेबसाइटहरूमा साइबर आक्रमण र संवेदनशील तथ्यांक चोरीको जोखिम बढाएको बताइएको छ। साइबर सुरक्षा कम्पनी विज (Wiz) ले यी कमजोरीलाई अत्यन्त गम्भीर खतराका रूपमा लिएको छ।
वेबसाइटहरू बन्द हुँदा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, जल तथा मौसम विज्ञान विभागलगायतका सरकारी निकायका वेबसाइटहरू खुल्न सकेका छैनन्। देशभरका स्थानीय तह तथा पालिकाका वेबसाइटहरू पनि प्रभावित भएका छन्।
साइबर सुरक्षा निकायहरूले यसअघि नै उक्त कमजोरी समाधान गर्न सुरक्षा अपडेट जारी गरिसकेका थिए। तर, समयमै अपडेट लागू गर्न नसकेका सरकारी तथा अन्य निकायहरूलाई सम्भावित साइबर आक्रमण र डेटा चोरीबाट जोगिन वेबसाइटहरू अस्थायी रूपमा बन्द राख्न सुझाव दिइएको थियो।
सोही सिफारिसका आधारमा जोखिम न्यूनीकरण गर्न सम्बन्धित प्राविधिक निकायहरूले सरकारी वेबसाइटहरू बन्द गराएको बताइएको छ।
हाल सम्बन्धित संस्थाहरूले पीएचपीको नयाँ सुरक्षा अपडेट लागू गर्ने प्रक्रिया अघि बढाइरहेका छन्। सुरक्षा अपडेट लागू गरी आवश्यक प्राविधिक तयारी पूरा भएपछि वेबसाइटहरू पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
यस घटनाले सरकारी डिजिटल सेवाको सुरक्षा, नियमित सफ्टवेयर अपडेट र साइबर जोखिम व्यवस्थापनको महत्त्वलाई पुनः उजागर गरेको छ।