वीरगञ्ज - वीरगञ्ज महानगरपालिका–४ स्थित भगवती टोलमा श्री भगवती युवा क्लबको आयोजनामा यस वर्ष पनि भव्य रूपमा दुर्गापूजा भइरहेको छ। स्थानीयवासीको सहयोग र सहभागितामा विगत ११ वर्षदेखि ठूलो दुर्गा प्रतिमा स्थापना गरी विधिपूर्वक पूजाआजा हुँदै आएको आयोजकले जनाएको छ।
भगवती टोल दुर्गापूजा समितिका अध्यक्ष अमन भट्टराईको अध्यक्षतामा सञ्चालन भइरहेको पूजामा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको छ। टोलवासीको आपसी सहयोग, सद्भाव र धार्मिक आस्थाका कारण प्रत्येक वर्ष दुर्गापूजा भव्य रूपमा आयोजना हुँदै आएको आयोजकले जनाएको छ।
समितिका पूर्वअध्यक्ष सर्दुल भट्टराईका अनुसार स्थानीय टोलवासीको आर्थिक तथा भौतिक सहयोगबाट दुर्गापूजा आयोजना हुँदै आएको छ। उहाँले स्थानीयवासीको एकता र सहयोगले गर्दा विगत ११ वर्षदेखि निरन्तर रूपमा दुर्गापूजा सञ्चालन गर्न सम्भव भएको जानकारी दिनुभयो।
त्यसैगरी, पूजाको स्थापनाकालदेखि नै ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेले विधिपूर्वक पूजाआजा गराउँदै आउनुभएको आयोजकले जनाएको छ। धार्मिक परम्परा र विधिअनुसार पूजा सम्पन्न गरिँदै आएको समितिले जानकारी दिएको छ।
यस वर्षको दुर्गापूजामा मुख्य जजमानका रूपमा धिरज साह र उहाँकी धर्मपत्नी विभा साह रहनुभएको आयोजकले जनाएको छ। मुख्य जजमानको सहभागितामा धार्मिक विधिअनुसार पूजाआजा भइरहेको छ।
पूजा व्यवस्थापन तथा सञ्चालनका लागि समितिका पदाधिकारी र सदस्यहरू सक्रिय रूपमा खटिएका छन्। पूजामा संस्थापक अध्यक्ष एवं समाजसेवी प्रकाश उपाध्याय, सचिव दिपेश सिंह, कोषाध्यक्ष विराट सिंह, उपाध्यक्ष रोहन जैसवाल, स्वयंसेवक अनमोल ठकुराईलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको छ।
आयोजकका अनुसार यस वर्षको दुर्गापूजा सम्पन्न गर्न करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त रकम स्थानीयवासी तथा सहयोगीहरूको सहयोगबाट व्यवस्थापन गरिने जनाइएको छ।
भगवती टोलमा हरेक वर्ष आयोजना हुँदै आएको दुर्गापूजाले स्थानीय समुदायबीच धार्मिक आस्था, आपसी सद्भाव र सामाजिक एकतालाई थप बलियो बनाउँदै आएको छ। स्थानीयवासीको सक्रिय सहभागितामा निरन्तरता पाउँदै आएको यस धार्मिक आयोजनाले टोलको सांस्कृतिक तथा धार्मिक पहिचानलाई समेत उजागर गरेको छ।