३० असोज, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग(आसपास क्षेत्रमा सञ्चालित होटेल, रेस्टुरेन्ट र खाजा घरहरूलाई अनिवार्य रूपमा मूल्यसूची राख्न र ग्राहकलाई विलबिजक उपलब्ध गराउन निर्देशन दिएको छ ।
चाडपर्वका बेला राजमार्गका होटेलहरूले मनोमानी शुल्क असुल्ने र गुणस्तरहीन खाना बिक्री गर्ने गरेको भन्दै उपभोक्ताबाट व्यापक उजुरी आएपछि विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
विभागले जारी गरेको सूचनाअनुसार राजमार्ग आसपास सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूले सेवाग्राही र ग्राहकले सहजै देख्न सक्ने दृश्य स्थानमा सम्पूर्ण परिकारको मूल्यसूची अनिवार्य रूपमा टाँस्नुपर्नेछ । साथै, बिक्री गरिएका वस्तु तथा प्रदान गरिएका सेवाको वास्तविक रकम खुल्ने गरी ग्राहकलाई अनिवार्य रूपमा आधिकारिक बिलबिजक दिनुपर्ने व्यवस्था गरिएको छ ।
उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणलाई ध्यानमा राख्दै विभागले स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खाना, खाजा र पेय पदार्थ मात्र बिक्री(वितरण गर्न व्यवसायीहरूलाई ताकेता गरेको छ ।
खाद्यवस्तुको तयारी, भण्डारण तथा बिक्री-वितरणमा तोकिएको स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्नेछ । भान्सा, भोजन कक्ष, भाँडाकुँडा, पिउने पानी र शौचालयको नियमित सरसफाइ कायम राख्न तथा म्याद गुज्रिएका, दूषित र खान अयोग्य खाद्यवस्तु बिक्री नगर्न विभागले सचेत गराएको छ ।
विभागले टोली खटाएर राजमार्ग क्षेत्रमा आकस्मिक अनुगमन तीव्र पारिने र अनुगमनका क्रममा निर्देशनको पालना नगरेको वा उपभोक्ता ठगी गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम स्थलगत रूपमै कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ ।