आनन्द पटेल
वीरगञ्ज। क्रिकेट खेलप्रति विद्यार्थीहरूको रुचि बढाउँदै उनीहरूलाई खेल क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने उद्देश्यले वीरगञ्जस्थित जीवन ज्योति माध्यमिक विद्यालयले १५ जना विद्यार्थी खेलाडीलाई क्रिकेट खेल सामग्री र पोसाक वितरण गरेको छ। बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा खेलाडीहरूलाई आवश्यक खेल सामग्रीसहित क्रिकेट पोसाक प्रदान गरिएको हो।
विद्यालयका प्रधानाध्यापक शिव गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा क्रिकेट क्षेत्रका प्रतिनिधि, विद्यालयका पदाधिकारी, शिक्षक, प्रशिक्षक, पत्रकार तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले क्रिकेट खेल मनोरञ्जनको माध्यम मात्र नभई भविष्यमा करियर निर्माण गर्ने अवसरसमेत बनेको बताए। उनले खेलाडीहरूलाई अनुशासन, नियमित अभ्यास र मेहनतका साथ आफ्नो खेल कौशल निखार्न आग्रह गरे। गौतम बुद्ध, सगरमाथा र क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले नेपाली क्रिकेटको बढ्दो लोकप्रियताले युवा खेलाडीका लागि नयाँ सम्भावना खोलेको बताए।
जिल्ला स्तरबाट खेल यात्रा सुरु गरेका खेलाडीले आफ्नो प्रतिभा र प्रदर्शनका आधारमा प्रदेश तथा राष्ट्रिय स्तरसम्म पुग्न सक्ने उनको भनाइ थियो। क्रिकेटमा निरन्तर मेहनत, लगनशीलता र अनुशासन कायम राख्न सके खेलकुदलाई भविष्य निर्माणको माध्यम बनाउन सकिने उनले बताए। यसका लागि विद्यालय तहदेखि नै खेलाडीलाई नियमित प्रशिक्षण र आवश्यक खेल सामग्री उपलब्ध गराउनु महत्त्वपूर्ण रहेको उनले जोड दिए।
विद्यालयका प्रधानाध्यापक शिव गुप्ताले खेलाडीहरूलाई अनुशासित भएर खेल्न तथा प्रशिक्षक र अग्रजहरूको सुझावलाई आत्मसात् गर्न आग्रह गरे। खेलमा सफलता हासिल गर्न प्रतिभासँगै निरन्तर अभ्यास, धैर्य र मेहनत आवश्यक पर्ने उल्लेख गर्दै उनले विद्यालयले उपलब्ध गराएको सामग्रीले खेलाडीहरूको मनोबल बढाउनुका साथै प्रदर्शन सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुद प्रतिभाको पहिचान र प्रवर्द्धनलाई पनि प्राथमिकता दिएको जनाएको छ। खेल सामग्री र पोसाक वितरणले विद्यार्थीहरूलाई क्रिकेटप्रति थप आकर्षित गर्नुका साथै भविष्यमा दक्ष खेलाडी उत्पादन गर्ने प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा क्रिकेटको केन्द्रीय छनोट समितिका सदस्य मुर्तुजा हावरी, राष्ट्रिय अम्पायर सतीश सिंह राजपूत, विद्यालयका निर्देशक मीनाक्षी गुप्ता, व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेकी कामाक्षी गुप्ता, शिक्षक लालबाबु यादव, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल, पत्रकार दिपु बर्नवाल, क्रिकेटका मुख्य प्रशिक्षक प्रदीप तिवारी तथा कप्तान सागर यादव लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन उज्ज्वल घिमिरेले गरेका थिए।