वीरगञ्ज - प्रकृति संरक्षण तथा वातावरणीय जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ७१औँ नेपाल प्रहरी दिवस २०८३ को अवसरमा वीरगञ्जमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी प्रदेश कार्यालयको आयोजना तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा आयोजित उक्त कार्यक्रममा १५० वटा बिरुवा रोपण गरिएको हो।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ र सुन्दर वातावरण निर्माण गर्ने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा नेपाल प्रहरीका वरिष्ठ अधिकृत, प्रहरी कर्मचारी तथा सामुदायिक प्रहरीका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगर, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई, प्रहरी निरीक्षक जटाशंकर यादव, प्रहरी रञ्जन मिश्रलगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
वृक्षारोपणका क्रममा सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणमा सबैले आ–आफ्नो तर्फबाट योगदान दिनुपर्नेमा जोड दिएका थिए। बढ्दो सहरीकरणका कारण हरियाली घट्दै गएको अवस्थामा वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न, वायु प्रदूषण न्यूनीकरण गर्न तथा स्वच्छ वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
नेपाल प्रहरी दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी सामाजिक उत्तरदायित्व र जनहितका कार्यसँग जोड्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो। यस्ता कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्ध थप सुमधुर बनाउनुका साथै वातावरण संरक्षणप्रति नागरिकलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले पनि सामुदायिक सहभागितामार्फत सरसफाइ, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणका गतिविधिलाई निरन्तरता दिँदै आएको छ। रोपिएका बिरुवाको संरक्षण र उचित हेरचाह गर्न सकेमा आगामी दिनमा यस क्षेत्रलाई थप हरियालीयुक्त बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा सहभागी प्रहरी अधिकारी तथा सामुदायिक प्रहरीका प्रतिनिधिहरूले वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए। वृक्षारोपण गर्नु मात्र नभई बिरुवालाई हुर्काएर संरक्षण गर्नु नै वातावरणीय अभियानको महत्वपूर्ण पक्ष भएको उनीहरूको भनाइ थियो।
७१औँ नेपाल प्रहरी दिवस २०८३ को अवसरमा आयोजित यस वृक्षारोपण कार्यक्रमले प्रहरीको सामाजिक उत्तरदायित्व, वातावरण संरक्षणप्रतिको प्रतिबद्धता तथा समुदायसँगको सहकार्यलाई थप बलियो बनाउने विश्वास लिइएको छ।