वीरगञ्ज, २३ असोज। वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका निर्वाचित केन्द्रीय सदस्य विजयकुमार सरावगीले एमालेको साधारण सदस्यसमेत त्याग गरेको घोषणा गरेका छन्। उनको यो निर्णयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सँग जोडिएको नयाँ राजनीतिक यात्राबारे चर्चा सुरु भएको छ।
रास्वपाको सदस्यता लिएको दाबी गरिएका विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरावगीले बिहीबार एमालेसँगको सम्पूर्ण सम्बन्ध तोडेको घोषणा गरेका हुन्। यस घटनालाई वीरगञ्जको स्थानीय राजनीतिमा नयाँ राजनीतिक समीकरणको सम्भावनाका रूपमा हेरिएको छ।
उद्योगी तथा व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका सरावगी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। त्यसपछि २०७८ फागुनमा जनता समाजवादी पार्टी ९जसपा० परित्याग गरी एमालेमा प्रवेश गरेका उनी २०७९ सालको निर्वाचनमा एमालेबाट पुनः मेयरका उम्मेदवार बनेका थिए। तर, उक्त निर्वाचनमा उनी सत्ता गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहसँग पराजित भएका थिए।
लामो समयदेखि एमालेभित्र निष्क्रिय रहँदै आएका सरावगीको पछिल्लो निर्णयले उनको राजनीतिक सक्रियता फेरि चर्चामा आएको छ। रास्वपासँग जोडिएको उनको सम्भावित आबद्धतालाई वीरगञ्जको आगामी राजनीतिक प्रतिस्पर्धाका दृष्टिले पनि चासोका साथ हेरिएको छ।
स्थानीय राजनीतिक वृत्तमा सरावगी आगामी निर्वाचनमा रास्वपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न सक्ने चर्चा भइरहेको छ। यद्यपि, उनको उम्मेदवारीबारे अहिलेसम्म औपचारिक निर्णय सार्वजनिक भएको छैन।
सरावगीको नयाँ राजनीतिक यात्राले वीरगञ्जमा वैकल्पिक राजनीतिक शक्तिको सम्भावना र आगामी निर्वाचनको प्रतिस्पर्धालाई थप रोचक बनाउन सक्ने देखिएको छ।