वीरगञ्ज– १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ का लागि मधेश प्रदेशस्तरीय शारीरिक सुगठन छनोट प्रतियोगिता वीरगञ्जमा सम्पन्न भएको छ। प्रतियोगिताबाट विभिन्न तौल समूह तथा विधामा खेलाडीहरू छनोट भएका छन्।
मधेश खेलकुद परिषद्, जनकपुरधामको आयोजना तथा पर्सा जिल्ला खेलकुद विकास समितिको सहकार्यमा आयोजित प्रतियोगिता वीरगञ्जस्थित पर्सा जिल्ला खेलकुद विकास समितिको कभर्ड हल, घडिअर्वामा सम्पन्न भएको हो।
छनोट समितिका संयोजक करण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक साह कानु, कार्यालय सचिव सञ्जय परियार, मिस्टर धर्मश्री विजेता अर्जुन वर्णवाल, मिस्टर नारायणी विजेता श्रीराम चौधरी, कुस्ती खेलाडी सुजित यादव, अफिसियल कोच आकाश पटेल, समाजसेवी मणीन्द्रलाल नेपाली तथा कराते प्रशिक्षक अशेषर पटेललगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा पर्सा, बारा र रौतहट जिल्लाका खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशको प्रतिनिधित्व गर्नेछन्।
छनोट भएका खेलाडीहरूको विवरण यसप्रकार छ:
पर्सा जिल्ला: विकास पासवान – ५५ केजी, हरिनारायण साह – ६५ केजी, मो. खालिद हुसेन – ७० केजी, साहेब गिरी – ७५ केजी, शक्ति ठाकुर – ८० केजी, प्रेमचन्दर गुप्ता – ८० केजीभन्दा माथि, अफताब मियाँ मन्सुरी – मेन्स स्पोर्ट्स फिजिक्स ९(१७० सेमी)
बारा जिल्ला: बर्मा प्रसाद यादव – ६० केजी, राहुल कुमार साह – पुरुष एथलेटिक्स फिजिक्स (१७० सेमी)
रौतहट: जिल्ला शेख इरफान – मेन्स स्पोर्ट्स फिजिक्स (१७० सेमी)
छनोट भएका खेलाडीहरूको विवरण छनोट समितिका संयोजक करण यादवले जानकारी गराएका हुन्। कार्यक्रमको सञ्चालन शिवनाथ यादवले गर्नुभएको थियो।