प्याब्सन वीरगञ्ज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय प्रथम भएको छ। प्रतियोगिताको समग्र नतिजामा गुरुकुल एकेडेमी दोस्रो र द रोयल एकेडेमी तेस्रो भएका छन्।
शनिबार वीरगञ्जस्थित द रोयल एकेडेमीमा सम्पन्न प्रतियोगितामा २५ विद्यालयका १८४ जना विद्यार्थीले सहभागिता जनाएका थिए। नेपाली र अंग्रेजी हस्तलेखन विधामा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो।
प्याब्सन पर्साका उपाध्यक्ष एवं कार्यक्रम संयोजक वीरेन्द्र यादवका अनुसार प्रतियोगितामा विद्यार्थीहरूले नेपाली तथा अंग्रेजी दुवै भाषामा आफ्नो हस्तलेखन कला प्रस्तुत गरेका थिए।
प्रतियोगिताको समग्र विद्यालयगत नतिजाअनुसार साउथ जोन माध्यमिक विद्यालयले ३५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। त्यसैगरी २० अंकसहित गुरुकुल एकेडेमी दोस्रो र १७ अंकसहित द रोयल एकेडेमी तेस्रो भएका छन्। प्रतियोगितामा प्रथम हुनेलाई ५, द्वितीयलाई ४, तृतीयलाई ३, चौथोलाई २ र पाँचौँ स्थान हासिल गर्नेलाई १ अंक प्रदान गरी समग्र नतिजा तयार गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको समूहगत नतिजाअनुसार कक्षा १–३ को नेपाली हस्तलेखनतर्फ साउथ जोनकी आरोही पटेल प्रथम, गोल्डेन फ्युचरका रोशन साह द्वितीय र गुरुकुलकी सेजल कुशवाहा तृतीय भए। अंग्रेजी हस्तलेखनतर्फ गुरुकुलका निर्बिक साहनी प्रथम, साउथ जोनकी काजल प्रजापति द्वितीय र मुनलाइटकी सोनम ठाकुर तृतीय भए।
कक्षा ४–५ को अंग्रेजी हस्तलेखनतर्फ साउथ जोनका एमडी जैद अन्सारी प्रथम, गुरुकुलका सृजल जायसवाल द्वितीय र द रोयल एकेडेमीकी मानवी चौहान तृतीय भए। नेपाली हस्तलेखनतर्फ साउथ जोनकी अनुष्का सिंह प्रथम, गुरुकुलकी अनुष्का यादव द्वितीय र विद्यासदनकी साहिन खातुन तृतीय भए।
त्यस्तै, कक्षा ६–८ को नेपाली हस्तलेखनतर्फ विद्यासदनकी खुश्बु पण्डित प्रथम, मस्कट एकेडेमीका सिद्धार्थ प्रसाद यादव द्वितीय र साउथ जोनकी सोनाली चौरसिया तृतीय भए। अंग्रेजी हस्तलेखनतर्फ द रोयल एकेडेमीकी खुश्बु गुप्ता प्रथम, साउथ जोनका आदित्य कुमार चौरसिया द्वितीय र गौतम माध्यमिक विद्यालयकी समृद्धि कुश तृतीय भए।
कक्षा ९–१० को अंग्रेजी हस्तलेखनतर्फ साउथ जोनका नितेश गौर प्रथम, विद्यासदनका आयान अन्सारी द्वितीय र लिटिल एन्जल्सकी रञ्जना दास तृतीय भए। नेपाली हस्तलेखनतर्फ द रोयल एकेडेमीकी परिशी दास प्रथम, साउथ जोनकी अंशिता कुमारी यादव द्वितीय र विद्यासदनकी अञ्जली यादव तृतीय भए।
प्रतियोगिताको नतिजा सोही दिन सार्वजनिक गरी सहभागी विद्यार्थीहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी तथा मेडल भने आइतबार कार्तिक १५ गते आयोजना हुने चित्रकला प्रतियोगिताको समापन समारोहमा वितरण गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी, वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष एवं कार्यक्रम संयोजक वीरेन्द्र यादव, सचिव अशोक संग्रौला, प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, सदस्य विजय बल, पूर्वसचिव सन्नी पाख्रिन तथा द रोयल एकेडेमीकी प्रिन्सिपल विजया ओझैयालगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिता सञ्चालनका लागि विद्यालय परिसर उपलब्ध गराएर सहयोग गरेको भन्दै आयोजकले द रोयल एकेडेमीप्रति आभार व्यक्त गरेको छ। ‘PABSON Creative Strokes 2083’ अन्तर्गत चित्रकला प्रतियोगिता आइतबार कार्तिक १५ गते सञ्चालन हुने र त्यसपछि दुवै विधाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरिने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ।
