विराटनगर । जसको मृत्यु भयो भन्ने सोचे र परिवारले ६ महिना पहिल्यै अन्त्येष्टि गरिसकेको थियो, उनै व्यक्ति गत आइतबार राति ९ बजे जीवितै टुप्लुक्क घर आइपुगे । पदमबहादुरको अन्त्येष्टि सहित काजकिरिया भइसकेको थियो । जिउँदै फर्केपछि उनको पुनः न्वारान र ब्रतबन्ध गरियो, त्यसपछि पदम बहादुर अहिले दिलबहादुर बनेका छन् ।
पदमबहादुरको पुनरागमन परिवारका लागि अप्रत्याशित खुसीको क्षण बन्यो । तर यो घटनाले गम्भीर प्रश्न खडा गरेको छ, त्यसबेला पदम ठानेर दाहसंस्कार गरिएको शव कसको थियो तं?
मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका ३७ वर्षीय पदमबहादुर राय क्षेत्री गत जेठमा मृत ठानेर परिवारले अन्त्येष्टि गरिएका व्यक्ति हुन् । उनी गत आइतबार राति ९ बजे जीवितै घरमा आइपुगे । मरिसकेको भनिएका व्यक्ति जिउँदै फर्कँदा परिवार र छिमेका कोलाहल मच्चियो । र, उनको घर फिर्ति सत्य थियो । हिन्दू परम्पराअनुसार उनको पुनः न्वारान र व्रतबन्ध गर्नुपर्यो । राय परिवारका छिमेकी तथा स्थानीय पत्रकार प्रशान्त निरौलाका अनुसार पदमबहादुरको नाम अब दिलबहादुरमा परिणत भएको छ ।
दुर्घटनामा उनको मृत्यु भएको विश्वासमा परिवारले अन्तिम संस्कार गरेको थियो । मृत्युका आधारमा दुर्घटना बीमाबापत ५ लाख ५० हजार रुपैयाँसमेत परिवारले बुझिसकेको छ ।
यो घटना पदमबहादुरको घरफिर्तीमा मात्रै सीमित छैन । दुर्घटनामा मृत्यु भएका अर्का व्यक्तिको पहिचान हराएको छ । एउटा परिवारले जीवित सदस्य फिर्ता पाएको छ । तर उसबेला अस्पतालको शवगृहमा राखिएको वास्तविक मृतक व्यक्तिको परिवारले अझै आफ्नो मान्छेको अवस्थाबारे थाहा नपाएको हुन सक्छ ।
घटना सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डको हो । प्रहरीका अनुसार २०८३ जेठ २६ गते बिहान करिब साढे ८ बजे कोशी प्रदेश १–०४–००१ प ३६०४ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका थिए । उपचारका लागि उनलाई मोरङको बुढीगंगास्थित विराट टिचिङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो ।
मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो । सूचना पाएपछि पदमबहादुरका पिता नारायण अस्पताल पुगे । उनले शव आफ्नै छोराको भएको बताए । त्यसपछि प्रहरीले सनाखतका आधारमा आवश्यक प्रक्रिया पूरा गरी शव परिवारलाई बुझायो । परिवारले जेठ २९ गते स्थानीय चिसाङ खोलामा अन्त्येष्टि गर्यो ।
वडाध्यक्ष भूमसुर्य मगरका अनुसार पदमबहादुरको बायाँतर्फको माथिको एउटा दाँत थिएन । दाहिने हातमा खत थियो । शवको पनि दुरुस्त अवस्था थियो । शवको बायाँतर्फको माथिको एक दाँत नहुनु र दाहिने हातमा खत भएकै आधारमा पदमबहादुर नै हो भनेर सनाखत गरेर शव बुझ्ने र अन्त्येष्टि गर्ने काम भएको थियो ।
तर, अहिले पदमबहादुर जीवितै फर्किएपछि त्यही सनाखत प्रक्रियामाथि प्रश्न उठेको छ । शवको पहिचानमा भएको सम्भावित त्रुटिले परिवारलाई गलत शोकमा डुबाएको मात्र होइन, दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचानसमेत ओझेलमा पारेको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका अनुसार पदमबहादुर २०८२ माघदेखि घरबाहिर थिए । उनी घर छाडेर हिँड्ने र नियमित रूपमा घरमा नबस्ने गरेको विवरण प्रहरीले परिवारबाट पाएको थियो । विवाहपछि श्रीमती अलग्गिएको र त्यसपछि उनी घरमा नियमित नबसी लामो समय घरबाहिर रहने र फर्कने गर्थे । पछिल्लो समय उनी घरबाट हिँडेपछि परिवारलाई उनको अवस्थाबारे जानकारी थिएन ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार पदमबहादुर जीवितै फर्किएको परिवारले पुष्टि गरेपछि प्रहरीले घटनासँग सम्बन्धित पुराना तस्बिर र भिडियो अध्ययन गर्न थालेको छ ।
उनी जीवितै फर्किएको कुरा परिवारले पुष्टि गरेपछि प्रहरी पुराना फोटो–भिडियो हेरेर पुनः अनुसन्धानमा जुटेको छ । कटुवालले भने, ‘कहिलेकाहीँ परिवारले सनाखतका क्रममा आफ्नै मान्छे हो भनिदिँदा यस्तो समस्या आइलाग्छ ।’
प्रहरीको अनुसन्धान अब दुई विषयमा केन्द्रित छ । त्यसबेला अस्पतालमा राखिएको शव कसको थियो र परिवारले त्यसलाई पदमबहादुरकै शव भनेर कसरी सनाखत गर्यो रु यी प्रश्नको जवाफले दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलाउन सहयोग गर्न सक्छ ।
घटनासँग जोडिएको अर्को पक्ष दुर्घटना बीमा भुक्तानी हो । पदमबहादुरको मृत्यु भएको आधारमा परिवारले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको थियो । उनी जीवितै भेटिएपछि उक्त रकम फिर्ता गर्ने परिवारले बताएको एसपी कटुवालले जानकारी दिए ।
बीमाको रकम फिर्ता गर्ने विषयले मात्रै घटनाका सबै प्रश्नको जवाफ दिँदैन । वास्तविक मृतकको पहिचान खुलाउनु र शव सनाखतको प्रक्रिया कसरी अघि बढ्यो भन्ने यकिन गर्नु पनि उत्तिकै आवश्यक छ ।
पदमबहादुरको पुनरागमनले एउटा परिवारमा खुसी फर्काउँदा अर्कोतर्फ चितामा जलाइएको वास्तविक व्यक्तिको पहिचान र उसको परिवारको अस्तित्व नै रहस्यमा पारेको छ ।
पदमबहादुरको घरफिर्तीले परिवारमा खुसी फर्काएको छ । तर, दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान नखुलेसम्म यो घटनाको मानवीय पाटो अधुरै रहनेछ । एउटा परिवारले आफ्नो सदस्य जीवितै पाएको छ भने अर्को परिवार अझै आफ्नो मान्छेको खोजीमा हुन सक्छ । अब प्रहरी अनुसन्धानले ती अज्ञात मृतकको पहिचान खुलाउन सक्छ कि सक्दैन भन्ने प्रश्न खडा भएको छ ।