वीरगञ्ज । विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै खेलकुदमा समेत प्रोत्साहित गर्ने उद्देश्यले वीरगञ्जमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘अक्षरारम्भ कप २०८३’ सुरु भएको छ।
वीरगञ्जस्थित टीबी शाह क्रिकेट मैदानमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले विद्यार्थीको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि विद्यालयले प्राथमिकता दिनुपर्ने बताए। उनले खेलमैदानको संरक्षण गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै प्रतियोगिता सञ्चालन हुने समयमा मात्रै नभई अन्य समयमा पनि मैदानको रेखदेख गर्नुपर्नेमा जोड दिए।
‘यो हाम्रो सम्पत्ति हो, यसको संरक्षण गर्ने दायित्व पनि हामी सबैको हो,’ उनले भने, ‘म यहाँको अभिभावकका रूपमा रहेको छु। खेलमैदानको संरक्षण र व्यवस्थापनका लागि स्थानीय नागरिक तथा अगुवाहरूको सहयोग आवश्यक छ।’
सिंहले खेलमैदानको संरक्षणमा सबै पक्षले हातेमालो गर्नुपर्ने बताउँदै खेलकुदको विकासका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिसिंहले टीबी शाह क्रिकेट मैदानलाई व्यवस्थित बनाउन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सिंहको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले मैदानको संरक्षण र रेखदेखमा आफूहरू लागिरहेको उल्लेख गर्दै यसको अभिभावकत्व महानगर प्रमुख सिंहले निर्वाह गरिरहेको बताए।
सनलाइट कलेजका प्रिन्सिपल आलोक चौरसियाले विद्यार्थीको शारीरिक स्वास्थ्य, स्फूर्ति तथा मानसिक सन्तुलन कायम राख्न खेलकुद महत्त्वपूर्ण रहेको बताए। उनले गुणस्तरीय शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकताका आधारमा प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।
प्रतियोगिता सनलाइट सेकेन्डरी स्कुल, विद्यासदन सेकेन्डरी स्कुल र न्यु वेभ एकेडेमीको संयुक्त आयोजनामा सञ्चालन भएको हो। उद्घाटन समारोहमा विद्यासदन माध्यमिक विद्यालयका प्रिन्सिपल लालबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता न्यु वेभ माध्यमिक विद्यालयका प्रिन्सिपल सुवास प्रधानले गरेका थिए।
प्रतियोगितामा १६ विद्यालयका विद्यार्थी खेलाडी सहभागी छन्। सहभागी विद्यालयहरूमा डीपीएस, पिस जोन, लिटिल फ्लावर, कादम्बरी एकेडेमी, सनलाइट, जीएचपी, ज्ञानोदय, जीवन ज्योति, ओम नेसनल, लिटिल एन्जल्स, न्यु वेभ, सूर्योदय, माउन्ट मकालु र मनकामना सेकेन्डरी स्कुललगायत रहेका छन्।
प्रतियोगिताको उद्घाटन खेलमा विद्यासदन र मिनी ल्यान्डबीच प्रतिस्पर्धा भएको छ।
उद्घाटन समारोहमा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष एवं मनकामना माध्यमिक विद्यालयका प्रिन्सिपल पुरन प्रधान, प्याब्सन मधेश प्रदेशका सल्लाहकार लालबाबु पटेल, मनि पाख्रिन, प्याब्सन महानगर सचिव एवं सनसाइन बोर्डिङ स्कुलका सञ्चालक अमित आलोक, सञ्चालक संगीता प्रधान, कादम्बरी स्कुलका प्रिन्सिपल राजेन्द्र आचार्य, एनप्याब्सन महानगर अध्यक्ष एवं सगरमाथा एकेडेमीका प्रिन्सिपल जियालाल गुप्ता, जीवन ज्योति स्कुलका प्रिन्सिपल शिवजी गुप्तालगायतको उपस्थिति थियो।
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। पत्रकार उज्ज्वल घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए।
प्रतियोगिताको उद्घाटन समारोहमा आयोजित मार्चपासमा मनकामना माध्यमिक विद्यालय प्रथम, न्यु वेभ माध्यमिक विद्यालय दोस्रो र जीएचपी तेस्रो भएका थिए।