वीरगञ्ज । महिलालाई सीपयुक्त बनाउँदै आत्मनिर्भर तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले वीरगञ्जमा तीनमहिने सिलाइकटाइ तथा ब्युटिसियन तालिम सुरु गरिएको छ।
नेपाल ट्रेड युनियन पर्साको आयोजनामा सञ्चालन हुन लागेको तालिमको वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गमलामा पानी हालेर उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि आलमले सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर बन्न, आफ्नै व्यवसाय सञ्चालन गर्न र आयआर्जनको अवसर सिर्जना गर्न सहयोग पुग्ने बताए। उनले नेपाली कांग्रेसको भातृ संस्थाका रूपमा रहेको ट्रेड युनियनले नागरिकको सीप तथा दक्षता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गरे। साथै, उनले नगरवासीलाई आगामी दीपावली तथा छठ पर्वको अग्रिम शुभकामना पनि दिए।
तालिममा ३० जना महिला सहभागी छन्। आयोजकका अनुसार सिलाइकटाइतर्फ १५ जनालाई प्रशिक्षक मजिद मियाले प्रशिक्षण दिनेछन् भने ब्युटिसियनतर्फ १५ जनालाई प्रशिक्षक राधा हमालले प्रशिक्षण दिनेछिन्। तीन महिनासम्म सञ्चालन हुने तालिमले सहभागी महिलालाई व्यावसायिक सीप हासिल गरी स्वरोजगार बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष महमद रेयाज मिया, नेपाल ट्रेड युनियन मधेस प्रदेशका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद कुर्मी तथा नेपाली कांग्रेस श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशी सहभागी थिए।
त्यसैगरी, वडा नम्बर २ का वडा सदस्यहरू बसिर मिया, चन्द्रनारायण सिंह रिजाल, पुन्देव प्रसाद यादव, उर्मिला थापालगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
नेपाल ट्रेड युनियन पर्साका अध्यक्ष छोटेलाल प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनमा स्थानीय पदाधिकारी र अगुवाहरूको सहभागिता रहेको थियो।