काठमाडौँ । भारतको नयाँ दिल्लीमा मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा पक्राउ परेका ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का दुई शीर्ष नेता रिहा भएका छन्।
रिहा हुनेमा पार्टीका प्रमुख प्रवक्ता सौरभ दास र सहसंयोजक आशुतोष रांका रहेका छन्। विशेष कार्यकारी मजिस्ट्रेटको अदालतले रिहाइको आदेश दिएपछि उनीहरू बुधबार दिल्लीस्थित तिहाड जेलबाट मुक्त भएका हुन्।
करिब एक साताअघि दिल्लीको जन्तरमन्तरस्थित निषेधित प्रदर्शन क्षेत्रमा प्रवेश गरी नाराबाजी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर जेल पठाएको थियो।
जेलबाट रिहा भएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै दास र रांकाले आफूहरूले कुनै गैरकानुनी गतिविधि नगरेको र शान्तिपूर्ण रूपमा आफ्ना माग राखेको बताएका छन्। बीबीसी हिन्दीका अनुसार उनीहरूले प्रदर्शनलाई आफ्नो माग अभिव्यक्त गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्।
सीजेपीले भारतको निर्वाचन आयोगमाथि सत्तारूढ दललाई चुनावी लाभ पुग्ने गरी मतदाता सूचीमा नियोजित रूपमा हेरफेर गरिएको आरोप लगाउँदै आएको छ। निष्पक्ष निर्वाचन सुनिश्चित गर्न मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने मागसहित पार्टीका समर्थकहरू प्रदर्शनमा उत्रिएका थिए।
तर, भारतको निर्वाचन आयोगले भने सीजेपीले लगाएका आरोपहरूलाई आधारहीन भन्दै अस्वीकार गर्दै आएको छ।
व्यङ्ग्यात्मक अभियानबाट जन्मिएको पार्टी
भारतमा पछिल्लो समय चर्चामा आएको कक्रोच जनता पार्टीको स्थापना सन् २०२६ को मे महिनामा इन्टरनेटमा सुरु भएको व्यङ्ग्यात्मक अभियानबाट भएको समाचारमा उल्लेख छ।
भारतका प्रधानन्यायाधीशले बेरोजगार युवाहरूलाई ‘कक्रोच’ अर्थात् साङ्लासँग तुलना गरेको भनिएको अभिव्यक्तिको विरोधमा सामाजिक सञ्जालमा अभियान सुरु भएको थियो। त्यसप्रति असन्तुष्ट युवाहरूले व्यङ्ग्यात्मक रूपमा पार्टी गठन गरेका थिए।
पछिल्लो समय सीजेपीले भारतका निर्वाचन प्रणाली, मतदाता सूची र राजनीतिक जवाफदेहितासम्बन्धी मुद्दा उठाउँदै आएको छ। पार्टीका दुई नेताको गिरफ्तारी र रिहाइले उक्त विषयलाई थप चर्चामा ल्याएको छ।