काठमाडौं । नोटमा केरमेट गर्ने, स्टिच लगाउने वा रङ दल्दै हुनुहुन्छ रु नोट बिगार्ने यस्ता कार्य गर्दा जेल सजाय हुन सक्छ । नेपाली मुद्रा (नोट) मा केरमेट गर्ने, च्यात्ने वा कुनै पनि तरिकाले बिगार्ने कार्य गरेमा ३ महिनासम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।
चाडपर्वका बेलामा उत्सव मनाउन नोटको विभिन्न प्रयोग गर्ने क्रममा नोटमा पूजा गर्ने, केरमेट गर्ने वा तेल लगाउने, मासु पसलमा मासु काटेको हातले नोट समाउँदा रगत लाग्ने जस्ता गतिविधि गरिन्छ । त्यसले नोटको आयु घटाउने र झुत्रो बनाउने गर्छ । नोटको आयु बढाउन नेपाल राष्ट्र बैंकले सफा नोट नीति लिएको छ भने नोटको जतन गर्न विभिन्न आह्वान गर्दै आएको छ । यस्तै नोटमा केरमेट गर्ने वा नष्ट गर्ने कार्य गर्नेलाई जेल सजायसम्मको कारबाही हुने कानुनी व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले पनि समय–समयमा सूचना जारी गर्दै नोटमा केरमेट गर्ने वा नष्ट गर्न खोज्ने व्यक्तिलाई ३ महिना जेल वा ५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने चेतावनी दिँदै आएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ अनुसार नेपाली नोट वा सिक्का जलाउने, केरमेट गर्ने वा नष्ट गर्न खोज्ने कार्यलाई फौजदारी कसुर मानिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई कानुनबमोजिम ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने स्पष्ट व्यवस्था छ ।
राष्ट्र बैंकले विगतदेखि नै नोटमा केरमेट नगर्न आग्रह गर्दै आएको भए पनि बजारमा अझै केरमेट गरिएका नोटहरू देखिने गरेका छन् । यस्तै दसैँ–तिहार जस्ता चाडपर्वमा नोटमा पूजा गर्ने र रङ लगाउने जस्ता कार्य हुँदा नोटको आयु घट्ने गरेको छ । यसै सन्दर्भमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई समेत परिपत्र जारी गर्दै नोटमा केरमेट गर्न र स्टिच ९टाँचा० लगाउन पूर्ण रोक लगाएको छ ।
नयाँ नोट छपाइ गर्न राज्यको ठूलो मात्रामा सम्पत्ति खर्च हुने गरेको छ । नोटको आयु लामो बनाउन सके देशको ठूलो धनराशि बचत हुने भएकाले नोटको जतन गर्नु हरेक नागरिकको कर्तव्य हो । यसैलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नोट प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरूबारे जानकारी गराएको छ ।
नोटको जतन कसरी गर्ने? यस्तो छ राष्ट्र बैंकको आह्वान:
– मनी ब्याग (पर्स) प्रयोग गरौं : नोटको जतन गर्नका लागि नोटलाई नपट्याई अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसाल्नुपर्छ ।
– केरमेट र फोहोर नगरौं : नोटमा कुनै पनि प्रकारको केरमेट नगर्ने र नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्ति त्यागौं ।
– स्टिच (टाँचा) नलगाऔं : नोटको बन्डलमा टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो भई यसको आयु घट्ने भएकाले यस्तो कार्यलाई निरुत्साहित गरौं ।
– पानी, आगो र धमिराबाट जोगाऔं : नोटलाई माटो, पानी, आगो र धमिराबाट सुरक्षित राखौँ। नोटलाई जमिनमा गाड्ने वा धेरै समय पोको पारेर राख्दा सड्ने जोखिम हुने भएकाले यसो नगरौं ।
– पूजाआजामा सावधानी अपनाऔं : मठ–मन्दिर वा पूजापाठमा नोट चढाउँदा रङ, अबिर, पानी, दूध, रगत आदि नपारौं । पूजास्थलमा नोट चढाउनुपर्दा दानपेटिकामा हाल्ने वा रसिद काटेर चन्दा दिने बानी बसालौँ। फोहोर वा मैलिएको हातले नोट नछोऔं ।
– सुकिला नोटको प्रयोग : नयाँ र सुकिला नोटको मूल्य बराबर हुने भएकाले सकेसम्म सुकिला नोट नै प्रयोग गर्ने बानी गरौं ।
– शंकास्पद नोट बुझाऔं : कारोबारका क्रममा नक्कली वा शंकास्पद नोट भेटिएमा नजिकैको बैंक वा राष्ट्र बैंकको कार्यालयमा बुझाउनुपर्छ ।