वीरगञ्ज- विकास निर्माणका नाममा सर्वसाधारणलाई सास्ती दिने र गुनासो गर्दा उल्टै धम्की दिने प्रवृत्तिविरुद्ध पर्साको आत्माराम पथका स्थानीयले आवाज उठाएका छन। विन्दवासिनी गाउँपालिकादेखि पकाहामैनपुर गाउँपालिकासम्म भइरहेको नाला निर्माणका क्रममा सडकमा माटो, ग्रेबल, गिट्टी, बालुवा र निर्माणमा प्रयोग हुने मेसिन थुपार्दा सर्वसाधारणको आवतजावत प्रभावित भएको भन्दै स्थानीयले ठेकेदार कम्पनीको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन ।
सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । विकासका लागि सञ्चालन गरिएको निर्माण कार्य नै नागरिकका लागि असुविधाको कारण बनेपछि स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन ।
स्थानीय चन्द्रिका पटेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा र भौतिक पूर्वाधार कार्यालयमा निवेदन दिँदै सडकमा थुपारिएका निर्माण सामग्री, माटो तथा मेसिन तत्काल हटाएर सडक सञ्चालनमा ल्याउन माग गरिएको छ । नाला निर्माणका क्रममा सडक नै अवरुद्ध हुने गरी सामग्री राखिएको भन्दै स्थानीयले तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन ।
स्थानीयको गुनासोअनुसार सडक अवरोध हटाउन ठेकेदारसँग कुरा गर्दा चन्द्रिका पटेललाई उल्टै धाकधम्की दिइएको आरोपसमेत लागेको छ । सार्वजनिक समस्याबारे प्रश्न उठाउँदा समाधान खोज्नुको सट्टा धम्कीको सामना गर्नुपरेको स्थानीयको भनाई छ । यद्यपि, यस आरोपबारे ठेकेदार पक्षको प्रतिक्रिया प्राप्त हुन बाँकी छ।
निर्माण कार्यमा लापरवाही भएको स्थानीयको आरोप
भौतिक पूर्वाधार कार्यालयअन्तर्गत सञ्चालन भईरहेको नाला निर्माण कार्यमा लापरवाही र अनियमितता भएको स्थानीयले आरोप समेत लगाएका छन । निर्माण सामग्री सडकमा अव्यवस्थित रूपमा राखिएको, सर्वसाधारणको आवागमनलाई प्राथमिकतामा नराखिएको तथा निर्माण कार्यको व्यवस्थापनमा कमजोरी देखिएको उनीहरूको दाबी छ । योजनाहरू ठेक्कामार्फत प्राप्त गर्ने प्रक्रिया र निर्माण कार्य सञ्चालनको तौरतरिकामाथि समेत स्थानीयले प्रश्न उठाउन थालेका छन । आर्थिक चलखेलका आधारमा योजना हात पारिएको र ठेकेदार कम्पनीले आफूखुसी काम तथा गतिविधि गर्दै आएको भन्ने आरोपसमेत स्थानीयस्तरमा उठेको छ ।
सडक खुलाउन प्रशासनको निर्देशनात्मक पहल
स्थानीयको निवेदनपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक कारबाहीका लागि भौतिक पूर्वाधार कार्यालयलाई पत्राचार गरेको छ । सडकमा थुपारिएका सामग्री हटाई सर्वसाधारणको आवागमन सहज बनाउनुपर्ने मागसहित प्रशासनको ध्यानाकर्षण गराईएको हो । अब सम्बन्धित भौतिक पूर्वाधार कार्यालयले सडक अवरोध हटाउन र निर्माण कार्यलाई व्यवस्थित बनाउन के कदम चाल्छ भन्ने प्रश्न उठेको छ । प्रशासनमा निवेदन र पत्राचार भईसकेपछि पनि सडकमा देखिएको समस्या समाधान हुन नसके सम्बन्धित निकायको जवाफदेहितामाथि थप प्रश्न उठ्नेछ।
विकास निर्माणको काम नागरिकलाई सुविधा दिनका लागि हो, सास्ती र धम्कीको वातावरण सिर्जना गर्न होईन । नाला निर्माण आवश्यक भए पनि त्यसका नाममा सडक अवरुद्ध गरेर सर्वसाधारणको आवागमन प्रभावित पार्नु र गुनासो गर्ने नागरिकमाथि धम्की दिएको आरोप लाग्नु गम्भीर विषय बनेको छ । त्यसकारण सम्बन्धित निकायले सडक तत्काल सञ्चालनमा ल्याउने, निर्माण कार्यको अनुगमन गर्ने, लापरवाही भएको भए छानबिन गर्ने तथा धम्कीको आरोपबारे निष्पक्ष रूपमा सत्यतथ्य बुझ्ने पहल गर्नुपर्ने देखिन्छ । स्थानीयले उठाएका प्रश्नको जवाफ र सडक समस्याको समाधान अब सम्बन्धित निकायको जिम्मेवारी बनेको देखिन्छ ।