विजयादशमीको अवसरमा नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकाको आदर्शनगर मेनरोड र लोहारपट्टि चोकमा परम्परागत पिङ निर्माण गरिँदै छ। वीरगञ्ज महानगरपालिका, नेपाली सेनाको श्री श्रीजंग गण र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको विशेष समन्वय तथा सहकार्यमा पिङ निर्माण गर्न लागिएको हो।
चाडपर्वका अवसरमा पिङ खेल्ने परम्परा नेपाली समाजमा प्राचीन कालदेखि नै चल्दै आएको छ। विशेषगरी दसैँका बेला पिङ खेल्ने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने र आपसी खुसी साटासाट गर्ने चलनले नेपाली संस्कृतिमा छुट्टै महत्त्व राख्दै आएको छ। तर आधुनिकताको बढ्दो प्रभावसँगै यस्ता मौलिक परम्पराहरू विस्तारै हराउँदै जान थालेपछि तिनको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पिङ निर्माण गर्न लागिएको हो।
वीरगञ्ज महानगरपालिकाका हरियाली संयोजक एवं ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले परम्परागत संस्कृति र चाडपर्वको महत्त्वलाई जीवन्त राख्न पिङ निर्माणको पहल गरिएको बताउनुभएको छ। उहाँका अनुसार महानगरपालिका, नेपाली सेना र सामुदायिक प्रहरीबीचको सहकार्यले सांस्कृतिक संरक्षणसँगै नगरवासीबीच आपसी सद्भाव, भाइचारा र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुग्नेछ।
वीरगञ्जको मुख्य प्रशासनिक तथा व्यापारिक क्षेत्र मानिने आदर्शनगर मेनरोड र लोहारपट्टि चोकमा परम्परागत शैलीमा पिङ निर्माण गरिनुले दसैँको रौनक थप बढाउने अपेक्षा गरिएको छ। पिङले स्थानीय बासिन्दासँगै वीरगञ्ज आउने आन्तरिक पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास लिइएको छ।
चाडपर्व केवल रमाइलो गर्ने अवसर मात्र नभई समाजको कला, संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई बलियो बनाउने माध्यमसमेत भएको उल्लेख गर्दै खेतानले मौलिक संस्कृतिको संरक्षणमा सबैको सहभागिता आवश्यक रहेको बताउनुभएको छ। यस्ता गतिविधिले नयाँ पुस्तालाई नेपाली परम्परासँग जोड्नुका साथै सामुदायिक सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय प्रशासन, सुरक्षा निकाय र समुदायबीचको सहकार्यमा अघि बढाइएको यो पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। सार्वजनिक स्थानमा परम्परागत पिङ निर्माण गर्नाले चाडपर्वको वातावरण थप उत्साहपूर्ण बन्नुका साथै वीरगञ्जको सांस्कृतिक पहिचानलाई समेत थप उजागर गर्ने विश्वास गरिएको छ।
यसैबीच, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष खेतानले विजयादशमीको पावन अवसरमा सम्पूर्ण नगरवासी तथा देश–विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले सबैलाई एकजुट भएर आफ्नो मौलिक संस्कृति र परम्पराको गौरव गर्न तथा चाडपर्वलाई आपसी सद्भाव, मेलमिलाप र खुसीका साथ भव्य रूपमा मनाउन आग्रहसमेत गर्नुभएको छ।