वीरगञ्ज, २७ असोज । वीरगञ्ज महानगरपालिका–९ स्थित जीवन ज्योति स्कुलका कक्षा ५, ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूले विज्ञान प्रदर्शनी गरेका छन्। विद्यार्थीमा वैज्ञानिक सोच, सिर्जनशीलता र प्रविधिप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो।
विद्यालयका प्रिन्सिपल शिवजी गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष एवं एनआई कलेजका प्रिन्सिपल मनिष सिंह प्रमुख अतिथि तथा प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष एवं मनकामना माध्यमिक विद्यालयका प्रिन्सिपल पुरन प्रधान विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न सामग्री र नमुना निर्माण गरी प्रस्तुत गरेका थिए। अतिथिहरूले विद्यार्थीले तयार पारेका सामग्रीको अवलोकन गर्दै उनीहरूको सिर्जनशीलता, मेहनत र प्रतिभाको प्रशंसा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि सिंहले विद्यार्थीहरूले आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरेका सामग्री उत्कृष्ट र समयसापेक्ष रहेको बताए। विद्यार्थीका सिर्जनात्मक कामले भविष्यमा उनीहरू इन्जिनियरलगायत प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति बन्न सक्ने सम्भावना देखाएको उनको भनाइ थियो।
आफूहरूले अध्ययन तथा अध्यापन गर्ने समयमा अहिलेको जस्तो आधुनिक प्रविधिको सुविधा उपलब्ध नभएको अनुभव सुनाउँदै सिंहले विद्यार्थीलाई प्रविधिको सदुपयोग गरी आफ्नो प्रतिभा निखार्न आग्रह गरे। मेहनत र निरन्तर प्रयासबाट लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै उनले प्रदर्शनीमा सहभागी विद्यार्थीलाई धन्यवाद दिए।
विशिष्ट अतिथि प्रधानले विद्यार्थीहरूको रुचि, लगनशीलता र विज्ञान तथा प्रविधिसम्बन्धी सामग्री निर्माण गर्ने प्रयास प्रशंसनीय रहेको बताए। विद्यार्थीलाई यस्ता सिर्जनात्मक गतिविधिमा निरन्तर सहभागी गराउनुपर्नेमा जोड दिँदै उनले विज्ञान तथा प्रविधिप्रतिको रुचिलाई भविष्यको पेसासँग जोड्न सके नेपालको प्राविधिक क्षेत्रको विकासमा योगदान पुग्ने धारणा व्यक्त गरे।
विद्यालयस्तरबाटै प्रयोगात्मक सिकाइको अवसर प्रदान गर्दा विद्यार्थीमा वैज्ञानिक सोच, समस्या समाधान गर्ने क्षमता र नयाँ कुरा सिर्जना गर्ने सीप विकास हुने अपेक्षा गरिएको छ। यस्ता प्रदर्शनीले विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्न तथा विज्ञान र प्रविधिको क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने विश्वास विद्यालयले लिएको छ।
कार्यक्रममा विद्यालयकी सञ्चालिका मिनाक्षी गुप्ता, कामक्षा गुप्ता, शिक्षक लालबाबु यादव, कोअर्डिनेटर दीपा थापा, अन्य शिक्षकशिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण उज्ज्वल घिमिरेले गरेका थिए।