भरतपुर,१२ मंसिर । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न भोलि (मंसिर १३) देखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माका अनुसार पहिरो रोकथामको काम गर्दा सम्भावित दुर्घटना तथा जोखिम हुन सक्ने भएकाले सवारी आवागमन बन्द गर्न लागिएको हो।
गत वर्षदेखि वर्षायाममा मात्रै नभई हिउँदमा समेत तुइनखोला क्षेत्रमा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिएपछि सडक डिभिजन कार्यालय भरतपुरले दीर्घकालीन समाधानका लागि काम अघि बढाएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार पहिरो प्रभावित क्षेत्रको भिरबाट ठूला ढुङ्गा हटाउने, भिरको ढलान व्यवस्थापन गर्ने र किला तथा रड ठोकेर जमिनलाई मजबुत बनाउने ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ।
त्यसैगरी, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ प्रविधि अपनाइनेछ। भिरको अवस्थाअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा जैविक प्रविधि (बायोइन्जिनियरिङ) समेत प्रयोग गरिने इन्जिनियर शर्माले जानकारी दिए।
गत असोजदेखि रोकिएको पहिरो रोकथामको काम पुनः तीव्र गतिमा अघि बढाउन लागिएको हो। यसअघि पृथ्वी राजमार्गको कृष्णभीरमा अवरोध आएपछि तुइनखोलामा काम गरिएको थियो। कृष्णभीरको सडक खुलेपछि भने यहाँको काम रोकिएको थियो।
इन्जिनियर शर्माका अनुसार तुइनखोलाको पहिरो रोकथामका लागि कम्तीमा १५ दिन सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था देखिएको छ। यद्यपि, प्राविधिक मूल्याङ्कनपछि कामका लागि आवश्यक समय निर्धारण गरिनेछ। तत्कालका लागि भने दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको उनले बताए।
यसैबीच, पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सम्पन्न हुने र पर्सिदेखि उक्त सडकखण्ड सञ्चालनमा आउने सडक डिभिजनले जनाएको छ। त्यसपछि तुइनखोलामा पहिरो रोकथामको कामलाई प्राथमिकता दिइनेछ।
प्रशासनले काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने खुला रहने स्पष्ट पारेको छ। नारायणगढ–मुग्लिङ सडक हुँदै यात्रा गर्ने यात्रुलाई समयतालिका मिलाएर यात्रा गर्न पनि प्रशासनले आग्रह गरेको छ।