काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढे पनि कर्जा प्रवाहले अपेक्षित गति लिन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
केन्द्रीय बैंकले दुई महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन शुक्रबार बोलकबोल गर्ने भएको हो ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंसिर ११ गते जारी गरेको सूचनाअनुसार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको ब्याजदर बोलकबोलबाटै निर्धारण हुने व्यवस्था छ । राष्ट्र बैंकले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म बोल गर्न सकिने तथा बोल रकम १० करोड रुपैयाँले भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरेको छ ।
सहभागी बैंक तथा वित्तीय संस्थाले एउटै वा फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोल पेस गर्न सक्नेछन् भने संकलित रकमको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी हुनेछ । यस उपकरणमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन् ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । तर कर्जा प्रवाह ६१ खर्ब १८ अर्ब रुपैयाँमा सीमित छ । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा ७७ खर्ब १२ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थामा ८ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ ।
वाणिज्य बैंकहरूले ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६ खर्ब ८० अर्ब रुपैयाँ छ । बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात अर्थात् सीडी रेसियो ७१.१६ प्रतिशतमा सीमित छ । नियामकीय व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने भए पनि कर्जाको माग कमजोर हुँदा उपलब्ध स्रोत पूर्ण रूपमा परिचालन हुन सकेको छैन ।
चालु आर्थिक वर्षको मंसिर ११ गतेसम्मको तथ्यांकअनुसार राष्ट्र बैंकका ऋणपत्र, निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामा गरी कुल १३ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको रकम रहेको छ । त्यसमध्ये राष्ट्र बैंक ऋणपत्रमा ४ खर्ब रुपैयाँ, निक्षेप संकलन उपकरणमा ८ खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामा १ खर्ब ४० अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
उक्त अवधिमा राष्ट्र बैंकले सामान्य निक्षेप संकलन उपकरण २९ पटक प्रयोग गरी १ खर्ब ६८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै स्थायी निक्षेप सुविधा ८० पटक प्रयोग गर्दै ९ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । तरलता प्रवाह गर्ने रिपो, सोझै खरिद, ओभरनाइट रिपो तथा स्थायी तरलता सुविधामार्फत भने यस अवधिमा कारोबार भएको छैन ।
बैंकिङ प्रणालीमा अधिक तरलता रहेसँगै अन्तरबैंक ब्याजदरसमेत घटेर २.७५ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप पर्याप्त भए पनि कर्जा प्रवाह कमजोर रहँदा बैंकहरूबीचको अल्पकालीन सापटीको ब्याजदर न्यून भएको हो । बैंकमा लगानीयोग्य रकम थुप्रिने र कर्जाको माग कमजोर रहने अवस्थाले वित्तीय प्रणालीमा तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई झनै चुनौती थपेको छ ।