वीरगंज,१० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने र त्यसबाट प्रभावित स्थानीय बासिन्दालाई अन्याय हुन नदिइने बताएका छन् ।
बुधबार सिमरामा पर्यटन तथा होटल व्यवसायीसँग आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पर्यटन विकासका लागि महत्वपूर्ण आयोजना भएकाले यसको निर्माण अनिवार्य रहेको बताए ।
उनले प्रभावित क्षेत्रका बासिन्दालाई उचित व्यवस्थापन र पुनःस्थापनाको व्यवस्था गरेर विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने स्पष्ट पारे ।
‘निजगढ विमानस्थल बन्छ । त्यहाँका प्रभावित जनतालाई अन्यायमा नपर्ने गरी पुनःस्थापना गरिन्छ,’ उनले भने, ‘निजगढ विमानस्थल हाम्रो लाइफलाइन हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब योभन्दा बढी क्षमतामा सञ्चालन हुन सक्ने अवस्थामा छैन ।’
मन्त्री पौडेलले विमानस्थल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित हुन नसक्दा आयोजना अघि बढ्न केही ढिलाइ भएको बताए । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आफ्नै सीमितता रहेको उल्लेख गर्दै उनले नेपालको पर्यटन विकासको मुख्य आधारका रूपमा निजगढ विमानस्थल रहने दाबी गरे । ‘हामीले जुन आकांक्षाका साथ पर्यटन विकास गर्न खोजिरहेका छौँ, त्यसको केन्द्रमा निजगढ विमानस्थल छ । यो बन्छ र बनाउनैपर्छ,’ उनले भने ।
यसैबीच, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चार किल्लाभित्र पर्ने टाँगिया बस्तीका बासिन्दालाई स्थानीय जनप्रतिनिधिले जग्गाधनी पुर्जा वितरणका लागि जिल्ला भूमि आयोगमा सिफारिस पठाएका छन् । राष्ट्रिय गौरवको आयोजना तथा कोर वन क्षेत्रमा रहेको उक्त बस्तीका बासिन्दालाई अव्यवस्थित बसोबासीका रूपमा वर्गीकरण गरी पुर्जा वितरण प्रक्रिया अघि बढाइएको छ ।
मन्त्री पौडेलले काठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिए । उनले मधेस प्रदेशमा पर्यटकको आवागमन उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको भन्दै पर्यटन तथा होटल व्यवसायीलाई ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गरे ।
‘मधेस प्रदेशको पर्यटकीय क्षेत्रमा गरिएको लगानी खेर जाँदैन भन्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘उत्साहित भएर र सरकारमाथि विश्वास गरेर होटल व्यवसायी साथीहरूले लगानी बढाउनुस् ।’
छलफलमा सहभागी पर्यटन व्यवसायीहरूले पर्सा राष्ट्रिय निकुञ्ज, प्रसिद्ध धार्मिकस्थल महागढीमाई मन्दिर तथा ऐतिहासिक नगरी सिम्रौनगढको पर्यटन प्रवर्द्धनका लागि संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।
मन्त्री पौडेलले देशभरका साना तथा ठूला मठमन्दिर पुनर्निर्माण र पर्यटन प्रवर्द्धनका लागि ठूलो बजेट आवश्यक पर्ने उल्लेख गर्दै सबै माग एकैपटक सम्बोधन गर्न सम्भव नरहेको बताए ।
कार्यक्रममा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले पर्यटनसम्बन्धी साना योजनाहरू स्थानीय तथा प्रदेश सरकारले अघि बढाउनुपर्ने बताए ।
हरेक मन्दिर र मस्जिदमा छुट्टाछुट्टै लगानी गर्नुभन्दा दीर्घकालीन योजना बनाएर पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने उनको भनाइ थियो । महागढीमाई र सिम्रौनगढजस्ता क्षेत्रको पर्यटन विकासलाई स्थानीयको रोजगारीसँग जोड्नुपर्नेमा उनले जोड दिए ।