वीरगञ्ज– बीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटीकामा रहेको माउन्ट मकालु सेकेन्डरी स्कुलमा विद्यार्थीहरूलाई साइबर अपराध तथा डिजिटल सुरक्षाबारे सचेत गराउने उद्देश्यले सचेतनामूलक कक्षा सञ्चालन गरिएको छ।
कार्यक्रममा काठमाडौं स्कूल अफ लका उपप्राध्यापक तथा अधिवक्ता बाबुराजा शाक्यले विद्यार्थीहरूलाई अनलाइन सुरक्षा, साइबर ठगी, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा व्यक्तिगत जानकारीको गोपनीयताबारे विस्तृत जानकारी गराउनुभएको थियो।
कक्षाका क्रममा अधिवक्ता शाक्यले विद्युतीय कारोबार ऐन, २०६३ मा व्यवस्था गरिएका कानुनी प्रावधानबारे समेत विद्यार्थीहरूलाई जानकारी गराउनुभयो। उहाँले इन्टरनेट तथा डिजिटल प्रविधिको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, अनलाइन माध्यमबाट हुन सक्ने विभिन्न प्रकारका ठगी तथा साइबर अपराधबाट बच्ने उपायबारे प्रकाश पार्नुभएको थियो।
पछिल्लो समय डिजिटल प्रविधि र सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीहरू साइबर अपराधको जोखिमबाट सुरक्षित रहन आवश्यक रहेको उहाँले बताउनुभयो। प्रविधिको सही र सुरक्षित प्रयोगसँगै आफ्नो व्यक्तिगत विवरण तथा गोपनीयताको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले विद्यार्थीहरूलाई विद्यालय स्तरबाटै साइबर अपराध तथा डिजिटल विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले विद्यार्थीहरूलाई विद्यालय स्तरबाटै साइबर अपराध तथा डिजिटल सुरक्षासम्बन्धी ज्ञान र सचेतना प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
प्रिन्सिपल श्रीवास्तवले बताए अनुसार विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै वर्तमान समयका चुनौती र जोखिमबारे पनि जानकारी गराउनु अति आवश्यक रहेको बताउँदै यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार र सुरक्षित डिजिटल प्रयोगकर्ता बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । यस्तो कार्यक्रमले विद्यार्थीहरूमा साइबर सुरक्षा, कानुनी सचेतना तथा डिजिटल प्रविधिको सुरक्षित प्रयोगसम्बन्धी ज्ञान अभिवृद्धिमा विद्यालय तथा अभिभावकहरूलाई धेरै उपलब्धि हुने अपेक्षा आफूहरूले गरेको प्रिन्सिपल श्रीवास्तवले बताएका छन्।