काठमाडौं,०८ मंसिर । तलब र आवास सुविधासम्बन्धी विवाद चर्किएपछि रोमानियामा कार्यरत ६ सयभन्दा बढी नेपाली श्रमिक समस्यामा परेका छन् । सम्झौताअनुसारको तलब नपाएको र निःशुल्क भनिएको आवास सुविधाबापत समेत रकम कटौती गर्न खोजिएको भन्दै श्रमिकहरू काम बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् ।
नेपालस्थित टाइम म्यानेजमेन्ट प्रालिमार्फत रोजगारीका लागि रोमानिया पुगेका श्रमिकहरूले आफूहरूमाथि अन्याय भएको गुनासो गरेका छन् । उनीहरूका अनुसार रोमानिया जान प्रतिव्यक्ति करिब १० लाख रुपैयाँ खर्च भएको थियो ।
श्रमिकहरूलाई रोमानियास्थित बिसार लजिस्टिक्स प्रालिमार्फत विभिन्न कम्पनीमा काममा लगाइएको थियो । नेपालबाट जाँदा गरिएको रोजगार सम्झौतामा मासिक आधारभूत तलब २ हजार ६ सय ९९ रोमानियन ल्यु ९आरओएन० उल्लेख गरिएको थियो । तर, अहिले कम्पनीले २ हजार ४ सय ५५ ल्यु मात्रै दिने बताएपछि विवाद उत्पन्न भएको श्रमिकहरूको भनाइ छ ।
सम्झौतामा उल्लेखित तलबभन्दा मासिक २४४ ल्यु कम दिने प्रस्ताव गरिएको भन्दै श्रमिकहरूले सम्बन्धित एजेन्सीसँग छलफल गरे पनि समस्या समाधान हुन नसकेको बताएका छन् ।
विवाद बढ्दै गएपछि ६ सयभन्दा बढी नेपाली श्रमिक कामविहीन हुने अवस्थामा पुगेका छन् । काममा नआए होस्टेल छाड्नुपर्ने आशयको सन्देशसमेत बिसार लजिस्टिक्सबाट प्राप्त भएको श्रमिकहरूले सार्वजनिक गरेका छन् ।
त्यस्तै, सम्झौतामा होस्टेल सुविधा निःशुल्क उपलब्ध गराउने भनिए पनि अहिले त्यसबापत मासिक ३०० ल्यु कटौती गर्न खोजिएको उनीहरूको गुनासो छ । सम्झौताअनुसार तलब नपाउने र बसोबासको सुविधासमेत अनिश्चित भएपछि आफूहरू थप समस्यामा परेको श्रमिकहरूले बताएका छन् ।
समस्यामा परेका नेपाली श्रमिकहरूले नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई तत्काल घटनामा चासो दिन आग्रह गरेका छन् ।
उनीहरूले रोमानियास्थित नेपाली दूतावासलाई सम्बन्धित कम्पनी र श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । नेपालबाट जाँदा गरिएको रोजगार सम्झौता र कम्पनीले अहिले उपलब्ध गराउन खोजेको तलबबीचको अन्तर तथा निःशुल्क भनिएको होस्टेलका नाममा रकम कटौती गर्न खोजिएको विषयमा छानबिन हुनुपर्ने उनीहरूको माग छ ।
साथै, श्रमिकलाई कामबाट निकाल्ने, होस्टेलबाट हटाउने वा अन्य कुनै किसिमको दबाब दिने कार्य तत्काल रोक्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।