पर्सा । पर्साको ठोरी गाउँपालिका–१ मा सञ्चालित एम.ई.आई. एकेडेमीले ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै आएको छ।
विद्यालयका प्रिन्सिपल सन्जीव गान्धारीका अनुसार ग्रामीण क्षेत्रमा निजी विद्यालय सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विद्यालय निरन्तर अघि बढिरहेको छ।
ग्रामीण क्षेत्रमा विद्यालय सञ्चालन गर्दा आर्थिक व्यवस्थापन मुख्य चुनौतीका रूपमा रहेको उनले बताए। अधिकांश अभिभावक कृषिमा निर्भर रहेकाले विद्यालयको शुल्क समयमै संकलन गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ।
विशेषगरी किसान अभिभावकले धानबाली भित्र्याएपछि र तोरी उत्पादनको सिजनमा मात्रै विद्यालय शुल्क बुझाउने प्रचलन रहेकाले आर्थिक व्यवस्थापनमा समस्या हुने गरेको गान्धारीले बताए। यद्यपि अभिभावकको अवस्थालाई ध्यानमा राख्दै विद्यालयले विभिन्न चुनौतीका बीच पनि शैक्षिक गुणस्तर कायम राख्न प्रयास गरिरहेको उनले उल्लेख गरे।
विद्यालयले नियमित पठनपाठनसँगै खेलकुद, सांस्कृतिक कार्यक्रम तथा अन्य अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ। यस्ता गतिविधिले विद्यार्थीको प्रतिभा प्रस्फुटन, सिर्जनात्मक क्षमता विकास तथा आत्मविश्वास अभिवृद्धिमा सहयोग पुग्ने विद्यालयको विश्वास छ।
ग्रामीण क्षेत्रका विद्यार्थीले पनि गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापका पर्याप्त अवसर पाउनुपर्ने धारणा राख्दै विद्यालयले शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउँदै लगेको प्रिन्सिपल गान्धारीले बताए।
यसैबीच, एम.ई.आई. एकेडेमीको अवलोकन गर्दै माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न पूर्वाधारसहित निजी विद्यालय सञ्चालन गरी अभिभावकको विश्वास जित्न सफल भएको भन्दै प्रिन्सिपल गान्धारीसहित विद्यालयका सञ्चालक तथा व्यवस्थापन पक्षको प्रशंसा गरे।
अवलोकनका क्रममा बुद्ध शान्ति एकेडेमीका प्रिन्सिपल सुरेन्द्र लामा पनि उपस्थित थिए।