वीरगञ्ज । तिहार पर्वको अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा आयोजित अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेज टोली प्रथम भएको छ। कलेजको इभेन्ट कमिटीको आयोजनामा सम्पन्न प्रतियोगितामा आईबीएमएस टोली दोस्रो र नर्सिङ स्टाफ टोली तेस्रो भएका छन्।
तिहारको सांस्कृतिक महत्व, परम्परा र मौलिकतालाई रंगोलीमार्फत प्रस्तुत गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा प्रशासन, आईबीएमएस, नर्सिङ कलेज, नर्सिङ स्टाफ र डेन्टल गरी पाँच टोलीको सहभागिता रहेको थियो। सहभागी टोलीले विभिन्न रंग र कलात्मक शैली प्रयोग गर्दै आकर्षक रंगोली निर्माण गरेका थिए।
प्रतियोगितामा प्रशासन टोली चौथो र डेन्टल टोली पाँचौँ भएको आयोजकले जनाएको छ। प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने चौथो र पाँचौँ स्थान प्राप्त गर्ने टोलीलाई सान्त्वना पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहान तथा प्राचार्य प्रा. डा. के.एन. सिंहको विशेष उपस्थिति रहेको थियो। प्रतियोगिताको मूल्याङ्कन उपप्राचार्य डा. रविशंकर गुप्ता, प्रा. डा. बबिता सिंह, प्रा. डा. सरोज देउ, प्रा. गंगा गुरुङ र प्रमुख वित्त अधिकृत मुकुन्द भुसाल सम्मिलित निर्णायक मण्डलले गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारीले रंगोली नेपाली तथा दक्षिण एसियाली चाडपर्वको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण कला भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विभिन्न विभागमा कार्यरत कर्मचारीबीच आपसी सद्भाव, सहकार्य, आत्मीयता र संस्थाप्रतिको अपनत्व बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
प्रतियोगिताको नेतृत्व इभेन्ट कमिटीका अध्यक्ष तथा प्रमुख सूचना अधिकृत (सीआईओ) इन्जिनियर प्रदीप कुमार चौधरीले गर्नुभएको थियो। कमिटीकी सदस्य–सचिव ऋचा सिंह तथा सदस्यहरू जितेश चन्द्र दास, विश्वनाथ कण्ठ, केशव भण्डारी, ब्रजकिशोर चौधरी र सन्तोष पोखरेलको सहभागिता रहेको थियो। प्रतियोगिताले कर्मचारीलाई आफ्नो सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै संस्थाभित्र सांस्कृतिक एकता, आपसी सम्मान र सहकार्यको भावना थप मजबुत बनाएको आयोजकले जनाएको छ।