वीरगञ्ज । नेपाल–भारतबीचको ऐतिहासिक मैत्री सम्बन्ध, सांस्कृतिक समझदारी तथा आपसी मित्रतालाई शिक्षा र युवा सहभागितामार्फत थप सुदृढ बनाउने उद्देश्यले वीरगञ्ज पब्लिक इङ्ग्लिस सेकेन्डरी प्लस टुका विद्यार्थीहरूले भारतीय महावाणिज्य दूतावासको शैक्षिक भ्रमण गरेका छन्।
विद्यालयका डाइरेक्टर दीपक पटेलका अनुसार भ्रमणका क्रममा विद्यार्थीहरूले दूतावासको कार्यसम्पादन, गतिविधि तथा कूटनीतिक कार्यप्रणालीबारे जानकारी लिएका थिए। साथै उनीहरूले भारतको कला, संस्कृति, परम्परा तथा सामाजिक विशेषताबारे समेत जानकारी प्राप्त गरेका थिए।
भ्रमणका क्रममा विद्यार्थीहरूले भारतीय महावाणिज्यदूत (कन्सुल जनरल) तथा दूतावासका अन्य अधिकारीहरूसँग अन्तरक्रिया गरेका थिए। उक्त अन्तरक्रियामा नेपाल र भारतबीच सदियौँदेखि कायम रहँदै आएको ऐतिहासिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धका विविध पक्षबारे जानकारी गराइएको थियो।
त्यसैगरी विद्यार्थीहरूले दूतावास परिसरमा रहेको ‘इन्डिया कर्नर’ (India Corner) को अवलोकन गरेका थिए। उक्त कर्नरमा प्रदर्शनमा राखिएका भारतीय कला, हस्तकला, संस्कृति तथा विविध सांस्कृतिक पहिचान झल्काउने सामग्रीबारे विद्यार्थीहरूले जानकारी लिएका थिए।
यस्ता शैक्षिक भ्रमणले विद्यार्थीहरूलाई दुई देशबीचको ऐतिहासिक सम्बन्ध बुझ्न, सांस्कृतिक विविधताबारे ज्ञान हासिल गर्न तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक गतिविधिबारे व्यावहारिक जानकारी प्राप्त गर्न महत्वपूर्ण सहयोग पुग्ने डाइरेक्टर पटेलले विश्वास व्यक्त गरे।
भारतको विदेश मन्त्रालय तथा नेपालस्थित भारतीय राजदूतावासको सहकार्य र समन्वयमा सञ्चालन भइरहेका यस्ता गतिविधिले नेपाल–भारतबीचको मित्रता, सांस्कृतिक आदानप्रदान तथा युवा पुस्ताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको पनि पटेलले बताए।