वीरगञ्ज । ज्ञानदा एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई आत्मविकास, आत्मपहिचान र लक्ष्य प्राप्तिका विषयमा प्रेरित गर्ने उद्देश्यले विशेष अन्तरक्रियात्मक सत्र सम्पन्न भएको छ।
एकेडेमी परिसरमा आयोजित दुई घण्टे सत्रमा विज्ञान, व्यवस्थापन र कानुन संकायका करिब २०० विद्यार्थीको सहभागिता रहेको थियो। ‘आफ्नो सपना पछ्याउनुहोस्’ (Chase Your Dream) शीर्षकमा आयोजित कार्यक्रमको सहजीकरण एकेडेमीका प्रमुख कार्यकारी अधिकृत तथा प्रिन्सिपल राजेन्द्रप्रसाद कोइरालाले गरेका थिए।
कार्यक्रमको सुरुआत प्रेरक वक्ता निक भुइचिचको प्रेरणादायी भिडियो प्रस्तुतिबाट गरिएको थियो। भिडियोले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न, चुनौतीको सामना गर्न र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिएको थियो।
सत्रका क्रममा विद्यार्थीहरूले आफ्ना सपना, विचार, लक्ष्य र आत्मअन्वेषणका विषयमा खुलेर धारणा राखेका थिए। परम्परागत शिक्षण शैलीभन्दा फरक अन्तरक्रियात्मक पद्धतिमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सहजीकरणका क्रममा कोइरालाले विद्यार्थीलाई सीमित सोच र पुराना धारणाबाट माथि उठ्दै आफ्नो नैतिक तथा बौद्धिक क्षमता पहिचान गर्न आग्रह गरे। उनले पद वा पदवीबिना पनि नेतृत्व गर्न सक्ने आन्तरिक क्षमताको महत्त्वबारे चर्चा गर्दै दृढ संकल्प र निरन्तर प्रयासबाट ठूला सपना साकार पार्न सकिने बताए।
कार्यक्रममा विद्यार्थीहरूले विगतमा के भयो भन्ने कुरामा अल्झिनुभन्दा वर्तमान समयमा के गर्न सकिन्छ र भविष्यलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने सोचका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए।
विद्यार्थीमा आत्मविश्वास, सकारात्मक सोच, नेतृत्व क्षमता र लक्ष्यप्रतिको प्रतिबद्धता विकास गर्ने उद्देश्यले आयोजित सत्रलाई ज्ञानदा एकेडेमीले विद्यार्थीको व्यक्तित्व विकास तथा उत्कृष्टताको यात्रामा महत्त्वपूर्ण पहलका रूपमा लिएको छ।