काठमाडौं,१७ कार्तिक । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन वृद्धि र नर्सरी व्यवसायको विकासका लागि सरकारले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताएकी छन्।
मङ्गलबार काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को उद्घाटन गर्दै मन्त्री चौधरीले नेपाली फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिइन्।
उनले स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्याउन र स्वदेशी फूलको बजार विस्तार गर्न यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। तिहार उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस अवसरमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी आयोजना गर्नु सान्दर्भिक रहेको उनको भनाइ थियो।
मन्त्री चौधरीले नर्सरी व्यवसायलाई व्यापारमा मात्र सीमित नराखी उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र जलवायु परिवर्तनको असर न्यूनीकरणसँग जोड्नुपर्ने बताइन्। यस व्यवसायले युवा तथा महिलाका लागि रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना गर्न सक्ने उनले उल्लेख गरिन्।
नर्सरी व्यवसायीले लामो समयदेखि भोग्दै आएको जग्गा अभावको समस्या समाधान गर्न सरकारले कानुनमार्फत भूमि बैंकको अवधारणा अघि बढाउन लागेको पनि उनले जानकारी दिइन्।
‘नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि आवश्यक नीतिगत एवं प्राविधिक सहयोग र सहकार्य गर्न मन्त्रालय सधैँ तत्पर छ,’ उनले भनिन्, ‘रैथाने र नेपालमा उत्पादित वस्तुलाई सरकारले प्राथमिकता दिएको छ। व्यवसायीले उठाएको जग्गाको समस्या समाधान गर्न यसपटक कानुनमार्फत भूमि बैंकको अवधारणा ल्याउँदै छौँ।’
मन्त्रालयले वन तथा भू–संरक्षण विभाग, बागवानी केन्द्र, बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र तथा राष्ट्रिय प्लान्ट क्वारेन्टाइन र बायो–सेक्युरिटी केन्द्रमार्फत नर्सरी क्षेत्रको व्यवस्थापन, गुणस्तर नियमन, प्राविधिक सहयोग र तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले सरकारी स्वामित्वमा रहेका प्रयोगविहीन जग्गा नर्सरी व्यवसायीलाई भाडामा उपलब्ध गराउन माग गरे। उनले सहरी क्षेत्रमा खाली रहेका जग्गामा नर्सरी बजार स्थापना गर्ने वातावरण बनाउन तथा सातै प्रदेशमा प्रदेशस्तरीय मेला, प्रदर्शनी र तालिम सञ्चालन गर्ने नीति ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए।
तिहारका बेला ठूलो परिमाणमा फूल आयात हुने गरेको उल्लेख गर्दै उनले सयपत्री फूलमा आत्मनिर्भर बन्न आयात रोक्नुपर्ने बताए।
‘देशभरि खाली रहेका जग्गाको भौगोलिक अवस्था हेरेर फूल, फलफूल वा जडीबुटीको व्यावसायिक खेती गर्नुपर्छ,’ उनले भने, ‘नर्सरी व्यवसायीले बिरुवा उत्पादन गर्ने, किसानले व्यावसायिक खेती गर्ने र उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने वातावरण सरकारले बनाउनुपर्छ।’
‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारासहित मंगलबारदेखि सुरु भएको एक्स्पो कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ। पाँच दिनसम्म चल्ने मेलामा पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्।
मेला संयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनका अनुसार एक्स्पोमा व्यावसायिक, सरकारी, संघका आधिकारिक र प्रतिस्पर्धात्मक गरी ७३ वटा स्टल राखिएका छन्। तीमध्ये ६३ वटा व्यावसायिक स्टल, वनस्पति विभाग र पुष्प विकास केन्द्रका स्टल, संघका ६ वटा आधिकारिक तथा चारवटा प्रतिस्पर्धात्मक स्टल रहेका छन्।
आयोजकले एक्स्पोमा ३५ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छ।