वीरगञ्ज - नेपाल–भारत सीमावर्ती क्षेत्रका विभिन्न नाकाबाट रातको समयमा अवैध सामान ओसारपसार हुने गरेको आरोप लागेको छ। स्थानीय स्रोतबाट प्राप्त विवरणअनुसार महोत्तरीका केही सीमावर्ती नाकालाई प्रयोग गरी नेपालबाट भारत र भारतबाट नेपालतर्फ विभिन्न सामानको तस्करी हुने गरेको दाबी गरिएको छ।
प्राप्त विवरणअनुसार छोटा भिठ्ठा, चकनी र बिन्दी हुँदै भारतको सुग्गा तथा चकनी बजारतर्फ, नेपालतर्फको बथनाहा र भारतको काटीकटैया क्षेत्र हुँदै तथा कनवा र सम्सी नाकाबाट समेत सामान ओसारपसार हुने गरेको आरोप छ।
यी नाकाबाट मदिरा, स्याउ, बिँडी, लसुन तथा कपडालगायतका सामानको अवैध कारोबार हुने गरेको स्रोतको दाबी छ। विशेषगरी रातको समयमा हुने गतिविधिमाथि सम्बन्धित निकायले निगरानी बढाउनुपर्ने स्थानीय स्रोतको भनाइ छ। अझ यो नाकाहरुबाट प्रतिबन्धित लागू औषधको ओसार पसार समेत हुने गरेको समाचार प्राप्त हुन आएको छ ।
सीमामा निगरानीमाथि प्रश्न
सीमावर्ती क्षेत्रमा हुने भनिएको यस्तो कारोबारले भन्सार राजस्वमा असर पार्न सक्ने भएकाले सीमामा खटिएका सुरक्षाकर्मी तथा भन्सार प्रशासनको निगरानी प्रभावकारी बनाउनुपर्ने देखिन्छ। तर, उल्लिखित नाकाबाट कति परिमाणमा सामान ओसारपसार भइरहेको छ र त्यसमा कसको संलग्नता छ भन्ने विषयमा स्वतन्त्र पुष्टि हुन बाँकी छ।
स्रोतले भारततर्फका सोनु, महमद सद्दाम हुसेन, महमद नन्हे लगायतका व्यापारीको नाम उल्लेख गर्दै उनीहरूमार्फत सामानको कारोबार भइरहेको आरोपसमेत लगाएको छ। यद्यपि, ती व्यक्तिको संलग्नताबारे पुष्टी हुन सकेको छैन । अझ उनीहरु भारतका बिभिन्न स्थानमा बसेर भंसार छल्ने दैनिक करोडौं रुपैयाँ बराबरको समान ओसार पसारमा संलग्न रहेको आशंका गरिएको भएपनि नियमक निकायले पक्राउ गरि कारवाही नहुँञ्जेलसम्म आरोप पुष्टी हुन सक्ने अवस्था छैन । यसको नियन्त्रणका लागि सीमावर्ती नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्न नियमित गस्ती, शंकास्पद गतिविधिको निगरानी र भन्सार जाँचलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।