काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि प्रकारको कर्जा लिनुअघि ऋणीहरूलाई आफ्नो आम्दानी, भुक्तानी क्षमता, कर्जाको लागत तथा सम्भावित जोखिमको गहिरो विश्लेषण गर्न सचेत गराएको छ ।
बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको वित्तीय चेतनामूलक सूचनामार्फत कर्जाको उचित उपयोग र समयमै भुक्तानीलाई जिम्मेवार वित्तीय व्यवहारको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ । राष्ट्र बैंकका अनुसार कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले ऋणीको आम्दानी, नगद प्रवाह, विगतको वित्तीय इतिहास, धितो र अन्य सर्तहरूलाई आधार बनाएर मूल्याङ्कन गर्ने गर्छन् जसले ऋणीको कर्जा चुक्ता गर्न सक्ने वास्तविक क्षमता र जोखिम आकलन गर्न सहयोग पुर्याउँछ ।
कर्जा प्राप्त गर्नका लागि इच्छुक व्यक्ति वा व्यवसायले सम्बन्धित बैंकमा नागरिकता, आम्दानीको प्रमाण, सम्पत्ति तथा धितोसम्बन्धी कागजात पेस गरी आवेदन दिनुपर्छ र त्यसपछि बैंकले वित्तीय अवस्था र साख इतिहासको आधारमा मूल्याङ्कन गरी ब्याजदर, भुक्तानी अवधि र सर्तहरू स्पष्ट पारेर कर्जा स्वीकृत गर्दछ । कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर कर्जा प्रवाह भएपश्चात पनि रकमको उपयोग तथा भुक्तानी अवस्थाको नियमित अनुगमन हुने गर्दछ ।
वित्तीय चेतनामूलक सामग्रीमा ऋणीले पर्याप्त सूचना पाउने, निष्पक्ष व्यवहार र गोपनीयताको हक राख्ने तथा गुनासो सुनुवाइको अधिकार हुने विषय समेटिएको छ भने यसको साथसाथै ऋणीले पनि सत्य सूचना दिनुपर्ने, कर्जाका सर्त राम्ररी अध्ययन गर्ने, स्वीकृत प्रयोजनमै रकम उपयोग गर्ने र तोकिएको समयमै साँवा–ब्याज भुक्तानी गर्ने दायित्व पूरा गर्नुपर्नेमा जोड दिइएको छ ।
सर्त नबुझी वा आफ्नो भुक्तानी क्षमताभन्दा बढी ऋण लिँदा आर्थिक दबाब बढ्न सक्ने भएकाले कर्जाको वास्तविक लागत र भविष्यको आम्दानीलाई ध्यान दिन राष्ट्र बैंकको सुझाव छ किनकि उत्पादनशील क्षेत्रमा लगानी र व्यवसाय विस्तारका लागि कर्जा उपयोगी साधन भए पनि यसको सफलता ऋणीको वित्तीय अनुशासन र योजनामा निर्भर रहने गर्दछ ।