काठमाडौँ । नेपाली क्रिकेटको बहुप्रतीक्षित महाउत्सव नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (सोमबार) देखि सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणको प्रधानमन्त्री शाहले विशेष समारोहका बिच उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले दिउँसो रङ्गशाला पुगेर प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नेछन्। आजदेखि सुरु हुने एनपीएल आगामी मंसिर ५ गतेसम्म चल्नेछ । प्रतियोगिताको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री बालेन शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवका रूपमा चित्रण गरेका छन्।
“नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ,” प्रधानमन्त्री शाहले भनेका छन्, “लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट सङ्घ (क्यान) लाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्१”
उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
आज हुने बहुप्रतीक्षित उद्घाटन खेलमा गएको संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमने-सामने हुँदैछन् । यी दुई बलिया टोलीबिचको रोमान्चक भिडन्त अपराह्न साढे चार बजेदेखि सुरु हुने कार्यतालिका छ।
यसपटकको एनपीएलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससहित जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ वटा फ्रेन्चाइज टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।