चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले अवैध पटाका तथा विस्फोटक पदार्थ नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। अभियानअन्तर्गत तीन लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका पटाका बरामद गरी नष्ट गरिएको छ।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी )मोहनबहादुर क्षेत्रीको नेतृत्व तथा निर्देशनमा सञ्चालन गरिएको अभियान चाडपर्वका बेला पटाका तथा अन्य विस्फोटक पदार्थको अवैध ओसारपसार, बिक्रीवितरण र प्रयोग नियन्त्रण गर्ने उद्देश्यले अघि बढाइएको हो।
पटाकाको अनियन्त्रित प्रयोगबाट आगलागी, शारीरिक चोटपटक तथा जनधनको क्षति हुनुका साथै ध्वनि र वायु प्रदूषणसमेत बढ्न सक्ने भएकाले नियन्त्रण अभियानलाई प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती जिल्ला पर्सामा अवैध रूपमा भित्रिने प्रतिबन्धित सामग्रीको ओसारपसार तथा कारोबार रोक्न निगरानी बढाइएको छ। चाडपर्वका बेला यस्ता सामग्रीको कारोबार र प्रयोग बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता थप कडा पारिएको हो।
पटाकाको प्रयोगले बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा वातावरणमा नकारात्मक असर पार्न सक्ने भएकाले नागरिकलाई समेत सचेत रहन सशस्त्र प्रहरीले आग्रह गरेको छ। प्रतिबन्धित पटाका तथा विस्फोटक पदार्थको अवैध कारोबार र प्रयोग नगर्न तथा त्यस्ता गतिविधिबारे जानकारी पाएमा नजिकको सुरक्षा निकायलाई सूचना दिन आग्रह गरिएको छ।
सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण र नागरिकको जिउधनको सुरक्षामा सक्रिय रहँदै आएको सशस्त्र प्रहरीले चाडपर्वलाई सुरक्षित र शान्तिपूर्ण बनाउन पटाका नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ।