बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ । प्रारम्भिक आकलनअनुसार मनाङसहित २९ जिल्लामा वर्षाको प्रभाव बढी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार उक्त प्रणालीको प्रभावले तीनदेखि चार दिनसम्म वर्षा हुन सक्नेछ । केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उनले बताएका छन् ।
भारतको आन्ध्र प्रदेश आसपास हुँदै नेपालतर्फ अघि बढ्ने अनुमान गरिएको उक्त प्रणालीको प्रभाव बिहीबार रातिदेखि थप बढ्न सक्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी पर्ने सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने प्रारम्भिक अनुमान छ ।
केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षाको सम्भावना
डा। पोखरेलले सार्वजनिक गरेको प्रारम्भिक जोखिम नक्साअनुसार कात्तिक १२ देखि १५ गतेसम्मको अवधिमा केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने सम्भावना छ । लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लासहित २९ जिल्लामा तुलनात्मक रूपमा बढी जोखिम देखिएको छ ।
यद्यपि, मौसम प्रणालीको मार्ग र तीव्रतामा हुने परिवर्तनसँगै वर्षाको मात्रा तथा जोखिममा पर्ने जिल्लाको सूची पनि परिवर्तन हुन सक्ने उनले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्न सक्ने जनाएको छ । तर वर्षाको मात्रा र जोखिम क्षेत्रबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
तीन मौसमी प्रणालीको संयुक्त प्रभाव पर्न सक्ने
मौसमविद्का अनुसार हाल दक्षिण भारतमा उत्तरपूर्वी मनसुन सक्रिय रहनुका साथै न्यून चापीय प्रणालीसमेत विकसित भइरहेको छ । बंगालको खाडीमा बनेको अर्को न्यून चापीय प्रणाली नेपालतर्फ आउने सम्भावना छ । यसका अतिरिक्त पश्चिमी वायुको प्रभावसमेत कायम रहेकाले वर्षाको सम्भावना बढ्न सक्ने विश्लेषण गरिएको छ ।
बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावा र माथिल्लो वायुमण्डलको अवस्थाले नेपालमा वर्षाको तीव्रता निर्धारण गर्न सक्ने मौसमविद् पोखरेलको भनाइ छ ।
तराईमा डुबान, पहाडमा पहिरो र हिमाली क्षेत्रमा हिमपातको जोखिम
सम्भावित वर्षाका कारण तराई–मधेशका जिल्लामा डुबान, पहाडी क्षेत्रमा पहिरो तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम रहन सक्ने मौसमविद्ले बताएका छन् । मनाङसहित हिमाली जिल्लामा भारी वर्षाको सम्भावना देखिएकाले मौसमको अवस्थालाई विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।
विशेषगरी बिहीबार रातिदेखि शुक्रबार रातिसम्मको अवधिमा सतर्कता अपनाउनुपर्ने संकेत देखिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीका अनुसार बंगालको खाडीमा उत्पन्न प्रणाली विकसित हुँदै भारतको ओडिशा र बिहार हुँदै नेपालतर्फ आउन सक्नेछ । यसका कारण पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको उनले बताएका छन् ।
यात्रा नगर्न र धान नकाट्न मौसमविद्को सुझाव
सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै मौसमविद्ले लामो दूरीको यात्रा नगर्न, हिमाली क्षेत्रमा पदयात्रा नगर्न तथा धान काट्ने र भित्र्याउने काम केही दिनका लागि स्थगित गर्न सुझाव दिएका छन् ।
डा. उप्रेतीले दशैँपछि कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई शुक्रबार र शनिबार यात्रा नगर्न आग्रह गरेका छन् । मौसमविद् उज्ज्वल उपाध्यायले पनि कात्तिक ११ देखि १५ गतेसम्म लामो दूरीको यात्रा नगर्न, बाली काट्ने तथा भित्र्याउने काम रोक्न र पदयात्रामा नजान सुझाव दिएका छन् ।
उनका अनुसार यात्राका क्रममा पृथ्वी राजमार्ग र बीपी राजमार्गमा विशेष सावधानी अपनाउन आवश्यक छ ।
मौसम प्रणालीको पछिल्लो अवस्था र आधिकारिक पूर्वानुमानअनुसार यात्रा तथा कृषि कार्यको योजना बनाउन र सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।