९ कार्त्तिक, काठमाडौँ । विश्वव्यापी रूपमा देखिएको ‘पीएचपी’ (PHP) प्रोग्रामिङ ल्याङ्ग्वेजको सुरक्षा कमजोरी (जिरो-डे भल्नरेबिलिटी) का कारण गत बिहीबारदेखि बन्द गराइएका नेपालका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सञ्चालनमा आएका छन् ।
सुरक्षा जोखिम न्यूनीकरणका लागि द्रुत गतिमा ‘सफ्टवेयर प्याच’ (सुरक्षा अपडेट) गरी प्राविधिक परीक्षण सम्पन्न भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय र नेपाल राष्ट्र बैंकसहित अधिकांश प्रमुख सरकारी निकायका वेबसाइटहरू खुल्न थालेका हुन् ।
विश्वभरका बैंकिङ, यातायात र सरकारी अनलाइन प्रणालीमा साइबर आक्रमणको खतरा बढेपछि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थाहरूलाई पीएचपीको सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसकिएसम्मका लागि वेबसाइटहरू अस्थायी रूपमा बन्द राख्न निर्देशन दिएका थिए । सोही चेतावनीका आधारमा सम्भावित साइबर जोखिमबाट जोगिन नेपालका सरकारी प्रणालीहरू पनि अस्थायी रूपमा बन्द गरिएका थिए ।
नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार तीव्र रूपमा काम अघि बढाएर सुरक्षा प्याच जडान र सम्पूर्ण परीक्षण पूरा गरिएपछि एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा डिजिटल नागरिक सेवाहरू पुनः सामान्य अवस्थामा फर्किएका छन् ।
नागरिकका अत्यावश्यक अनलाइन सेवा धेरै समय अवरुद्ध हुन नदिनका लागि प्राविधिक कर्मचारीहरू दसैँ बिदाको समयमा पनि निरन्तर खटिएका थिए ।
केन्द्रका अनुसार हालसम्म अधिकांश महत्त्वपूर्ण प्रणालीहरू सञ्चालनमा आइसकेका छन् भने बाँकी रहेका केही साना तथा स्थानीय तहका वेबसाइटहरूलाई पनि छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउन प्राविधिक टोलीहरू रातदिन खटिरहेका छन् ।