काठमाडौँ । पश्चिम-मध्य बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवात थप तीव्र बनेर ‘अत्यन्त शक्तिशाली चक्रवाती आँधी’ मा परिणत भएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो आँधी उत्तर-पश्चिमतर्फ अघि बढ्दै बुधबार दिउँसोसम्ममा बापटला र विशाखापट्टनमको बिचमा पर्ने यानम नजिकैबाट आन्ध्र प्रदेश तथा यानमको तटीय क्षेत्र पार गर्ने सम्भावना छ।
तटीय क्षेत्र पार गर्दा आँधीको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म रहने र अधिकतम गति १४० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
पछिल्लो विवरण अनुसार यो आँधी विशाखापट्टनमबाट करिब ३०० किलोमिटर, काकिनाडाबाट ३६० किलोमिटर, मछलीपट्टनमबाट ४६० किलोमिटर तथा बापटलाबाट ५३० किलोमिटर टाढा केन्द्रित छ। आँधी साँझसम्म पश्चिम-उत्तर-पश्चिमतर्फ अघि बढेपछि उत्तर-पश्चिमतर्फ मोडिने र बुधबार बिहानसम्ममा आन्ध्र प्रदेशको तट पार गर्ने मौसम विभागले जनाएको छ।
चक्रवातका कारण तटीय आन्ध्र प्रदेश र यानममा मंगलबार र बुधबार, ओडिसामा बुधबार, छत्तीसगढमा बुधबार र बिहीबार तथा पूर्वी उत्तर प्रदेशमा बिहीबार भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिइएको छ। उत्तर प्रदेशका चित्रकूट, कौशाम्बी, प्रयागराज, फतेहपुर, प्रतापगढ, रायबरेली, अमेठी र सुल्तानपुर लगायतका जिल्लाहरूमा वर्षाको सम्भावना छ।
समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार बरेली, पिलिभित, शाहजहाँपुरसहित पूर्वाञ्चल, अवध र तराई क्षेत्रका विभिन्न स्थानमा वर्षा र तीव्र हावाहुरी चल्ने छ। यसको असरले गर्दा त्यहाँको दिउँसोको तापक्रम ५ देखि ८ डिग्री सेल्सियससम्म घट्न सक्ने प्रक्षेपण गरिएको छ।
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै पूर्वसावधानीस्वरूप ‘साउथ कोस्ट रेलवे’ ले मंगलबार र बुधबारका लागि ५३ वटा रेल सेवा रद्द गरेको छ। यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखेर सेवा रद्द गरिएको र यसबाट पुगेको असुविधाप्रति दुःख व्यक्त गर्दै रेल प्रशासनले यात्रुहरूलाई स्टेसन जानुअघि रेलको स्थिति र यात्रा मिति यकिन गर्न आग्रह गरेको छ।
यता अण्डमान र निकोबार प्रशासनले चक्रवातलाई मध्यनजर गर्दै सबै विद्यालयहरू दुई दिन बन्द गर्ने निर्णय गरेको छ भने सर्वसाधारणलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आह्वान गरेको छ। बालबालिका तथा महिलाहरूको पोषण प्रभावित नहोस् भन्ने उद्देश्यले आँगनवाडी कार्यकर्ता तथा सहयोगीहरूलाई सम्बन्धित क्षेत्रमै तैनाथ रहन निर्देशन दिइएको छ भने संस्था बन्द रहे पनि लाभग्राहीको घरघरमै सुक्खा खाद्यान्न पुर्याइने व्यवस्था मिलाइएको छ।
यसैबिच ओडिसा सरकारले सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्महरूका लागि एक निर्देशिका जारी गर्दै चक्रवातसम्बन्धी झूटा, भ्रामक वा अनुमानमा आधारित प्रक्षेपण तथा चेतावनीहरू सम्प्रेषण नगर्न आग्रह गरेको छ।