११ कार्त्तिक, काठमाडौँ । बङ्गालको खाडीमा विकसित भई शक्तिशाली बन्दै गएको चक्रवात ‘अर्नब’ (Cyclone Arnab) का कारण नेपालमा तराईदेखि हिमाली भूभागसम्मै ठूलो प्रभाव पर्ने सम्भावना देखिएपछि सरकारले सुरक्षा निकायहरूलाई ‘हाई अलर्ट’ मा राखेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागले आगामी कात्तिक १२ गते बिहीबार रातिदेखि १४ गते शनिबारसम्म देशैभर उच्च सतर्कता अपनाउन र सुरक्षा अङ्गहरूसहित सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
नेपालमा कहिले र कस्तो पर्नेछ असर ?
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि कात्तिक १२ गते विहीबार रातिदेखि चक्रवात ‘अर्नब’ को अप्रत्यक्ष असर देखिनेछ । मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको बाहिरी घेराका बादलहरू नेपाली वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले वर्षा र हिमपातको जोखिम बढेको हो ।
कात्तिक १३ (शुक्रबार) र १४ गते (शनिबार) नेपालमा यसको मुख्य असर पर्नेछ । सो अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र तीव्र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको अनुमान छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा समेत भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
चक्रवातका कारण उत्पन्न हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गतेका लागि उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा (Trekking) गर्न पूर्ण रूपमा रोक लगाएको छ। यसअघि नै पदमार्गमा गइसकेका पर्यटकहरूलाई मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमै बस्न निर्देशन दिइएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र प्रवक्ता रामबहादुर केसीले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न, नदी तथा खोला किनारका बाढी जोखिमयुक्त क्षेत्रबाट टाढै रहन र सडक तथा हवाई उडानका अद्यावधिक सूचना हेरेर मात्र अघि बढ्न अपिल गरेका छन् ।
सम्भावित विपद्का बेला नागरिकलाई सहयोग पुर्याउन सरकारले आपत्कालीन नम्बरहरूसमेत सार्वजनिक गरेको छ। जसअनुसार मौसम जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १००, सशस्त्र प्रहरीका लागि १११४ र पर्यटक प्रहरीका लागि ११४४ मा तत्काल सम्पर्क गर्न सकिनेछ ।
भारतीय मौसम विभागका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहानसम्म आन्ध्र प्रदेशको बापटला र विशाखापत्तनमबिचको तटीय क्षेत्रमा प्रवेश गर्दै छ। प्रवेशका बखत हावाको गति ११५ देखि १४० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान छ ।
गम्भीर खतरालाई ध्यानमा राख्दै दक्षिण तटीय रेलवेले ५३ वटा रेल सेवा रद्द गरेको छ भने एयर इन्डियाले विशाखापत्तनम र विजयवाडाका उडानहरू प्रभावित हुन सक्ने जनाएको छ। तटीय क्षेत्रका विद्यालयहरू बन्द गरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने र खाद्यान्नको जोहो गर्ने कार्य तीव्र पारिएको छ ।