वीरगञ्ज । विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि तथा उनीहरूमा लुकेर रहेका प्रतिभा उजागर गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले ‘प्याब्सन क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत चित्रकला तथा हस्तलेखन प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले ‘जहाँ रङहरू भेटिन्छन् सुन्दर अक्षरहरूसँग’ भन्ने मूल नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएका छन्।
उनका अनुसार निजी विद्यालयहरूले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको बौद्धिक, सिर्जनात्मक तथा व्यावहारिक क्षमताको विकासलाई समेत प्राथमिकता दिँदै आएका छन्। विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभाको पहिचान गरी समाजमा स्थापित गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।
त्यसैगरी प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो कल्पनाशक्ति, सिर्जनशीलता र कलात्मक क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने बताए।
चित्रकलाले विद्यार्थीहरूको कल्पनाशक्ति तथा रचनात्मक सोचको विकासमा सहयोग पुर्याउनेछ भने हस्तलेखन प्रतियोगिताले अक्षरलाई स्पष्ट, आकर्षक र व्यवस्थित रूपमा लेख्ने बानीको विकास गर्न प्रेरित गर्ने उनको भनाइ छ।
प्याब्सनले शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिने उद्देश्यले यस्ता सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न र आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्ने प्याब्सनको विश्वास छ।
विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक, बौद्धिक तथा सिर्जनात्मक विकासलाई प्रोत्साहन गर्ने यस प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्दै उनीहरूलाई थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।