वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–२ छपकैयामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यकर्ता भेटघाट तथा स्थानीय जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय बासिन्दाले क्षेत्रका विभिन्न समस्या, गुनासा तथा विकाससम्बन्धी मागहरू राख्दै तिनको समाधानका लागि पहल गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन्।
रास्वपा वडा नम्बर २ का बुथ सभापति सांसद आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला सभापति एवं पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त) प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी, क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक तेज सम्शेर जबरा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा स्थानीय बासिन्दाले छपकैया क्षेत्रका सार्वजनिक सम्पत्ति संरक्षण, भौतिक पूर्वाधार निर्माण, सरसफाइ, खानेपानी, विद्युत्, स्वास्थ्य सेवा तथा सामाजिक समस्याबारे सांसद पन्तसमक्ष आफ्ना धारणा राखेका थिए।
स्थानीयले छपकैया पोखरीको अतिक्रमण हटाएर त्यसलाई सार्वजनिक पोखरीका रूपमा संरक्षण गर्नुपर्ने माग प्रमुखताका साथ उठाएका थिए। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छठ पर्वलाई व्यवस्थित बनाउन छठघाटको उचित व्यवस्थापन गर्नुपर्ने र मुस्लिम समुदायले नमाज पढ्ने ईदगाह क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने मागसमेत उनीहरूले राखेका थिए।
त्यसैगरी, विवाहलगायत सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गर्न सहज हुने गरी धर्मशाला निर्माण गर्नुपर्ने, नगर क्षेत्रमा फोहोर व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने र खुला नालामाथि ढक्कन राख्नुपर्ने विषयमा स्थानीयले ध्यानाकर्षण गराएका थिए।
खानेपानी तथा विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउनुपर्ने, सडक तथा नाला निर्माणलाई प्राथमिकता दिनुपर्ने र स्थानीय पूर्वाधारको विकासमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने मागसमेत कार्यक्रममा उठाइएको थियो।
स्थानीयले बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रण, रोजगारीका अवसर सिर्जना तथा सार्वजनिक सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिएका थिए। विशेषगरी अस्पतालहरूमा अत्यधिक भीडभाड हुने र सेवाग्राहीले लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थालाई सुधार गर्न लाइन व्यवस्थापन तथा स्वास्थ्य सेवा प्रवाहलाई सरल र सुविधाजनक बनाउनुपर्ने माग राखिएको थियो।
स्थानीयका समस्या, गुनासा तथा मागहरू सुनेपछि सांसद हरि पन्तले तिनको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले जनताका वास्तविक समस्या पहिचान गरी समाधानका लागि जनप्रतिनिधि र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
सांसद पन्तले संघीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार रहे पनि प्रदेश र स्थानीय तहमा पार्टीको सरकार नरहेको उल्लेख गर्दै जनताका अपेक्षाअनुसार काम गर्न सबै तहमा रास्वपाको नेतृत्व स्थापित हुनुपर्ने धारणा राखेका थिए। संघ, प्रदेश र स्थानीय तहमा समेत पार्टीको नेतृत्व स्थापित भए जनताका समस्या समाधान गर्न थप सहज हुने उनको भनाइ थियो।
उनले छपकैया क्षेत्रका बासिन्दाले उठाएका पोखरी संरक्षण, छठघाट व्यवस्थापन, धर्मशाला निर्माण, खानेपानी, सडक, नाला, सरसफाइ, रोजगारी तथा स्वास्थ्य सेवासम्बन्धी समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
आयोजकका अनुसार कार्यकर्ता भेटघाट तथा जनतासँग प्रत्यक्ष संवाद कार्यक्रमले स्थानीय बासिन्दालाई आफ्ना समस्या, गुनासा र विकाससम्बन्धी मागहरू जनप्रतिनिधिसमक्ष प्रत्यक्ष रूपमा राख्ने अवसर प्रदान गरेको छ। यस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको संवाद तथा समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।