लागुऔषधको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा निगरानीमा खटिएको प्रहरी टोलीले मोरङको रतुवामाईमा गोली चलाएर बिहीबार राति तीन जनालाई पक्राउ गरेको छ।
उक्त घटनामा प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन्। पक्राउ परेकाहरूको साथबाट करिब आधा किलो (५ सय ग्राम) खैरो हेरोइन (ब्राउन सुगर), पेस्तोल र गोलीसमेत बरामद भएको छ। रतुवामाई नगरपालिका–६ शनिश्चरेमा राति करिब ९:३० बजे प्रहरी र लागुऔषध कारोबारमा संलग्न व्यक्तिबीच जम्काभेट भएको थियो।
लागुऔषध नियन्त्रण एवं चेकजाँचका लागि खटिएको प्रहरी टोलीले दुईवटा मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोज्दा उनीहरूले भाग्ने प्रयास गर्नुका साथै प्रहरीमाथि नै गोली प्रहार गर्न खोजेको प्रहरीको भनाइ छ। त्यसपछि प्रहरीले प्रतिकारस्वरूप आठ राउन्ड गोली चलाएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए। उनका अनुसार लागुऔषध ओसारपसार तथा बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंका इन्स्पेक्टर राकेश यादव नेतृत्वको र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले शनिश्चरे क्षेत्रमा निगरानी गर्दै चेकजाँच गरिरहेको थियो।
त्यसै क्रममा भारतीय नम्बर प्लेटको बीआर ३७ भी ३९२६ नम्बरको मोटरसाइकल र तत्काल नम्बर खुल्न नसकेको अर्को मोटरसाइकलमा आएका तीन जना प्रहरीको नियन्त्रणमा पर्ने अवस्थामा पुगेका थिए। तर, प्रहरीलाई देख्नेबित्तिकै मोटरसाइकलसहित भाग्न खोजेको र नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि गोली प्रहारको प्रयाससमेत गरेको डीएसपी मिश्रले बताए।
त्यसपछि आत्मरक्षाका लागि चाइनिज पेस्तोलबाट पाँच राउन्ड र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गरी आठ राउन्ड गोली चलाइएको जानकारी उनले दिए। प्रहरीको गोली लागेर भारतको अररिया कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र भारत कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भए। दुवै जनाको घुँडामुनि गोली लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
गोली लागेपछि तत्कालै उद्धार गरी उपचारका लागि झुर्कियास्थित नगर अस्पताल पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि दुवैलाई विराटनगरस्थित कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका दुई भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने तेस्रो व्यक्ति मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर हुन्। पक्राउ परेकाहरू लागुऔषधको ओसारपसार तथा बिक्रीवितरणमा संलग्न रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन, एक थान होममेड पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको मिश्रले बताए। घटनामा प्रयोग भएका दुवै मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। प्रहरीले बरामद गरेको लागुऔषध एवं हतियारको स्रोत र भारतबाट नेपालतर्फ यसको ओसारपसार भइरहेको थियो वा अन्य कुनै माध्यमबाट कारोबार सञ्चालन भइरहेको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। त्यस्तै, पक्राउ परेका व्यक्तिहरूको कारोबार सञ्जाल, उनीहरूसँग जोडिएका अन्य व्यक्ति र लागुऔषधको खरिदबिक्री हुने सम्भावित स्थानका बारेमा समेत प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ।
पक्राउ परेकाहरू लागुऔषधका नामुद कारोबारी रहेको प्रहरीको दाबी छ। उनीहरूको संलग्नता र कारोबारको वास्तविक सञ्जाल पहिचान गर्न थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले गरिरहेको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय सिजुवाबाट करिब ६ किलोमिटर पश्चिम–दक्षिणमा पर्छ। प्रहरीका अनुसार बरामद हतियार र लागुऔषधको परीक्षण तथा पक्राउ परेकाहरूमाथिको अनुसन्धानबाट कारोबारको थप विवरण खुल्नेछ।