वीरगन्ज– वीरगन्ज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।
महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै वडा नम्बर २ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा स्थानान्तरण हुन महानगरपालिका क्षेत्रभित्र छरिएर थोक कारोबार गरिरहेका सबै व्यवसायीलाई निर्देशन दिएको हो।
महानगरपालिकाले थोक बजार सञ्चालनका लागि आवश्यक व्यवस्था गरिसकेको जनाएको छ। विभिन्न स्थानमा अव्यवस्थित रूपमा थोक कारोबार हुँदा बजार व्यवस्थापन, यातायात आवागमन र उपभोक्ताको सहज पहुँचमा समस्या उत्पन्न हुन सक्ने भएकाले सबै व्यवसायलाई एकै स्थानमा केन्द्रित गर्न लागिएको सूचनामा उल्लेख छ।
प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराद्वारा हस्ताक्षरित सूचनाअनुसार व्यवसायीले आगामी कात्तिक २ गतेभित्र छपकैयास्थित निर्धारित थोक बजारमा अनिवार्य रूपमा स्थानान्तरण भइसक्नुपर्नेछ। तोकिएको स्थानबाहेक अन्यत्र जथाभावी थोक बजार सञ्चालन गर्न वा बजार लगाउनसमेत महानगरपालिकाले रोक लगाएको छ।
निर्धारित समयभित्र स्थानान्तरण नगर्ने व्यवसायीविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने महानगरपालिकाले चेतावनी दिएको छ। समयसीमाभित्र बजार नसार्दा उत्पन्न हुने क्षतिको जिम्मेवारीसमेत सम्बन्धित व्यवसायीले नै लिनुपर्ने सूचनामा स्पष्ट पारिएको छ।
वीरगंजलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले सार्वजनिक स्थानको अतिक्रमण रोक्न, बजार व्यवस्थापन गर्न र यातायात आवागमन सहज बनाउन व्यवसायीलाई तोकिएको स्थानमै कारोबार सञ्चालन गर्न आग्रह गरेको छ।