हेटौँडा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मकवानपुरले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्य पसलबाट दसैँसम्म आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ । सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि सञ्चालनमा ल्याइएको छुट पसलबाट नुन, चिनी, तेल र मैदाको बिक्री उत्साहजनक रहेको कार्यालयले जनाएको छ ।
साल्ट ट्रेडिङ मकवानपुरका कार्यालय प्रमुख मधुसुधन अधिकारीका अनुसार सर्वसाधारणलाई समान रूपमा सहुलियत उपलब्ध गराउन प्रतिव्यक्ति ६ पोका नुन, ६ किलो चिनी, ५ लिटर तेल र ५ किलो मैदाको सीमा तोकिएको थियो ।
बजार मूल्यको तुलनामा चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २ रुपैयाँ, मैदामा ७ रुपैयाँ र भान्छाको तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ। सोही आधारमा दसैँ अवधिसम्म ६० बोरा (३ हजार किलो) चिनी, १० क्विन्टल नुन, ७ क्विन्टल मैदा र ५०० लिटर तेल बिक्री भइसकेको छ ।
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुरु गरिएको यो सुपथ मूल्य बिक्री केन्द्र कात्तिक मसान्तसम्म नै सञ्चालनमा रहनेछ । साल्ट ट्रेडिङ कर्पोरेसनले मकवानपुर (हेटौँडा) का साथै बिर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङलगायत देशभरका प्रमुख सहरहरूमा सहुलियत पसल सञ्चालन गरिरहेको छ ।