वीरगञ्ज । प्याब्सन वीरगञ्ज–पर्साले महिला क्रिकेटको विकास तथा नयाँ पुस्ताका खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले नयाँ अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
प्याब्सन वीरगञ्ज–पर्साका महानगर अध्यक्ष राहुल श्रीवास्तवले विद्यालयस्तरबाटै छात्राहरूलाई क्रिकेट खेलप्रति आकर्षित गर्दै उनीहरूमा रहेको खेल प्रतिभा पहिचान र प्रोत्साहन गर्ने लक्ष्यसहित अभियानको तयारी भइरहेको जानकारी दिएका छन्।
‘महिला क्रिकेटको नयाँ युग आउँदैछ’ भन्ने सन्देशका साथ अघि बढाउन लागिएको यस अभियानले महिला क्रिकेटप्रति आकर्षण बढाउनुका साथै खेलकुद क्षेत्रमा छात्राहरूको सहभागिता वृद्धि गर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष श्रीवास्तवका अनुसार नयाँ पुस्ताका महिला क्रिकेट खेलाडीहरूको जोश, प्रतिभा र क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्नु अभियानको मुख्य उद्देश्य हो। क्रिकेटमा छात्राहरूको सहभागिता बढाउँदै उनीहरूमा लुकेको प्रतिभा पहिचान गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास प्याब्सनले लिएको छ।
गुणस्तरीय शिक्षासँगै खेलकुदको विकासलाई पनि प्राथमिकता दिँदै विद्यालयस्तरबाटै महिला क्रिकेटका लागि सकारात्मक वातावरण निर्माण गर्ने प्याब्सनको योजना रहेको छ।
अभियानको औपचारिक मिति, सहभागी विद्यालयहरूको संख्या तथा प्रतियोगितासम्बन्धी विस्तृत विवरण चाँडै सार्वजनिक गरिने अध्यक्ष श्रीवास्तवले बताएका छन्।
महिला क्रिकेटको विकास, छात्राहरूको खेल सहभागिता वृद्धि र नयाँ प्रतिभाको पहिचानका लागि प्याब्सन वीरगञ्ज–पर्साले अघि सारेको यो पहललाई स्थानीय खेलकुद क्षेत्रले चासोका साथ हेरेको छ।