वीरगञ्ज । नेपालको उच्चशिक्षा प्रणालीलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यले हेटौँडामा प्रादेशिक विश्वविद्यालय व्यवस्थापन तथा समन्वयसम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
वागमती विश्वविद्यालयको आयोजनामा ‘नेपालको उच्चशिक्षा प्रणाली सुदृढीकरण : प्रादेशिक विश्वविद्यालय व्यवस्थापन तथा समन्वय’ विषयक कार्यशाला आयोजना गरिएको मधेस विश्वविद्यालयका रजिस्ट्रार विजय यादवले जानकारी दिएका छन्।
कार्यशालामा नेपाल सरकारका शिक्षामन्त्री, वागमती प्रदेशका मुख्यमन्त्री, सातवटै प्रदेशका शिक्षामन्त्री, त्रिभुवन विश्वविद्यालय तथा विभिन्न प्रादेशिक विश्वविद्यालयका उपकुलपति र पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यशालामा नेपालको उच्चशिक्षा प्रणालीलाई समयसापेक्ष, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन आवश्यक नीतिगत व्यवस्था, प्रादेशिक विश्वविद्यालयहरूको व्यवस्थापन, संस्थागत क्षमता अभिवृद्धि तथा संघ, प्रदेश र विश्वविद्यालयबीचको समन्वयका विषयमा छलफल गरिएको थियो।
त्यसैगरी, उच्चशिक्षामा पहुँच विस्तारसँगै शैक्षिक गुणस्तर सुधार, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन, दक्ष जनशक्ति उत्पादन र विश्वविद्यालयहरूको प्रभावकारी सञ्चालनका विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो।
संघीय संरचनाअनुसार स्थापना भएका प्रादेशिक विश्वविद्यालयहरूको प्रभावकारी सञ्चालन, स्रोतसाधनको उचित व्यवस्थापन, शैक्षिक कार्यक्रमको गुणस्तर अभिवृद्धि तथा विश्वविद्यालयहरूबीच सहकार्य विस्तार गर्ने विषयमा सहभागीहरूले आ–आफ्ना अनुभव र धारणा राखेका थिए।
सातवटै प्रदेशका शिक्षामन्त्री तथा विभिन्न विश्वविद्यालयका नेतृत्व र पदाधिकारीहरूको सहभागिताले उच्चशिक्षा क्षेत्रका साझा समस्या पहिचान गर्न र समाधानका लागि नीतिगत तथा व्यवस्थापकीय उपाय खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यशालाबाट प्राप्त सुझाव तथा निष्कर्षले नेपालको उच्चशिक्षा प्रणालीलाई थप सुदृढ बनाउन र प्रादेशिक विश्वविद्यालयहरूको व्यवस्थापन तथा समन्वयलाई प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वास गरिएको रजिस्ट्रार यादवले बताएका छन्।