वीरगञ्ज– बाराको प्रसौनीस्थित टाउन हलमा श्री बेङ्गा साह माध्यमिक विद्यालयको आयोजनामा ‘शिक्षाको महत्व’ विषयक अन्तरकक्षा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
विद्यार्थीमा वक्तृत्वकला, आत्मविश्वास र नेतृत्व क्षमताको विकाससँगै शिक्षाको महत्वबारे सकारात्मक धारणा निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद कुमार जयसवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष लालबाबु मुखिया, वडा नम्बर २ का अध्यक्ष हृदय कुमार साह तेली, गाउँपालिकाका शिक्षा प्रमुख सन्तोष रौनियार, प्रशासकीय अधिकृत पवन कुमार केसरी, कार्यपालिका सदस्य शिवजी प्रसाद कलवारलगायतको उपस्थिति थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षकहरू रामनाथ प्रसाद सुडी, बृजकिशोर यादव र जितेन्द्र साह रहेका थिए। कार्यक्रमको सञ्चालन कक्षा १० की छात्रा ज्योति कुशवाहाले गरेकी थिइन्।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक गिरिले विद्यार्थीलाई नियमित र अनुशासित रूपमा अध्ययन गर्दै आफ्नो क्षमता अभिवृद्धितर्फ केन्द्रित हुन आग्रह गरे। उनले पाठ्यक्रममा आधारित शिक्षासँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकास, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जयसवालले स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको बताए। उनले उच्च शिक्षाका लागि कलैया तथा वीरगञ्ज जानुपर्ने बाध्यता कम गर्दै स्थानीयस्तरमै अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण निर्माण गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा शिक्षकहरू अनोज यादव, वीरेश जयसवाल, सुबोध पाण्डे, प्रदीप नेपाल र किन्नु गुप्तालगायत शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो।
विद्यालयले विद्यार्थीको शैक्षिक, सिर्जनात्मक तथा व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि वक्तृत्वकला, वादविवादलगायत अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने जनाएको छ।