काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले विकासको गति र सुरक्षित भविष्यबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता रहेको बताएका छन्।
बिहीबार नेपाल जियोलोजिकल कंग्रेस उद्घाटन गर्दै सभामुख अर्यालले विपद् न्यूनीकरणका लागि भू–विज्ञानको भूमिका महत्वपूर्ण रहेको भन्दै विकासको गति र सुरक्षित भविष्यबीच सन्तुलन कायम गर्दै प्राकृतिक जोखिम कम गर्न सकिने बताएका हुन्।
उनले प्राकृतिक प्रकोप पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक अनुसन्धान, पूर्वतयारी, जोखिम पहिचान र प्रभावकारी नीतिबाट क्षति न्यूनीकरण गर्न सकिने धारणा राखे। सभामुख अर्यालले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल र सहरी पूर्वाधार निर्माण गर्दा भूगर्भीय अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
नेपालको संविधानले स्वच्छ वातावरणको हक र प्राकृतिक स्रोतको दिगो उपयोगलाई महत्त्व दिएको भन्दै यी प्रतिबद्धता कार्यान्वयन गर्न वैज्ञानिक अनुसन्धान तथा तथ्यमा आधारित नीति निर्माण आवश्यक रहेको उल्लेख गरे।
विपद् आउनुअघि नै जोखिम पहिचान र न्यूनीकरण गर्ने प्रणालीको विकास, प्राकृतिक स्रोतको वैज्ञानिक तथा दिगो उपयोग, र युवा वैज्ञानिकहरूको अनुसन्धान तथा प्राविधिक क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। सभामुख अर्यालले भौगर्भिक तथा जलवायुजन्य परिवर्तनले दक्षिण एसिया र विश्वलाई नै प्रभाव पार्न सक्ने भएकाले अन्तर्राष्ट्रिय सहकार्य, तथ्याङ्क आदानप्रदान, संयुक्त अनुसन्धान र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने बताए।